नेपालमा अलपत्र परेका माल्दिभ्सका नागरिकलाई वायुसेवा निगमको जहाजले ढाकासम्म पुर्‍याइदिने

बिएल संवाददाता

काठमाडाै‌ं

लकडाउनका कारण नेपालमा अलपत्र परेका १८ जना माल्दिभ्सका नागरिकलाई नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज एयरबस ए–३२० ले बंगलादेशको ढाकासम्म पुर्‍याइदिने भएको छ। 

निगमले काठमाडौंमा रहेको माल्दिभ्सको दुताबासको अनुरोधमा यो चार्टर उडान गर्न लागेको हो। निगमको जहाज ढाकाबाट रित्तै फर्किने छ।

जहाज अहिले आइतबार १० बजे काठमाडौंबाट ढाका उड्ने निगमको संस्थागत विभागकी निर्देशक अर्चना खड्काले जानकारी दिइन्। ढाकाबाट ती १८ जना अर्को विमानबाट माल्दिभ्सस्थित माले अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने छ।

यसअघि बैशाख २ गते निगमले चार्टर उडानबाट काठमाडौंमा अलपत्र परेका ३४ जना ब्राजिलका नागरिकलाई पनि दिल्लीसम्म पुर्‍याइदिएको थियो।

सरकारले लकडाउनमा व्यवसायिक उडानमा रोक लगाएको छ। तर, बिरामी, उद्धार, कार्गो तथा मानवीय सहायतासम्बन्धि चार्टर उडानलाई भने अनुमति दिने गरेको छ।

लकडाउन यता २५ वटा अन्तर्राष्ट्रिय चार्टर उडानबाट ४१ सय ५४ जनाको उद्धार भइसकेको छ।

शनिबार थाइल्यान्डका २ जना स्वदेश फिर्ता भएका थिए भने शुक्रबार मात्रै नेपालमा रोकिएका ४० नेपाली मुलका बेलायतीसहित २३३ जना टाइटनीक एयरबाट स्वदेश फिर्ता भएका थिए।

लकडाउनको समयमा सबैभन्दा बढी जर्मन सरकारले एक हजार २०३ जना नागरिक फिर्ता लगेको छ। जर्मनीले चैत १४ गते ३०७, चैत १५ गते ३०५, चैत २२ गते ३०७ र चैत २६ गते २८६ नागरिकलाई स्वदेश फिर्ता लगेको छ।

त्यसैगरी फ्रान्सले चैत १५ गते र चैत २२ गते दुई उडानमार्फत ६०८  नागरिकलाई नेपालबाट फिर्ता लगेको छ। अमेरिकाले पनि चैत १८ र चैत २३ गते दुईवटा उडानमार्फत नेपालमा रोकिएका आफ्ना ६०५ नागरिकको उद्धार गरेको छ। बेलायतले चैत २६ र २८ गते दुई उडानमार्फत ५०० नागरिक लगेको छ।

अष्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी २५७ नागरिक स्वदेश लगेको छ। नेपाल एयरलाइन्सको चैत १९ गतेको चार्टर उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन्। जापानले पनि नेपाल एयरलाइन्सकै वाइड बडी जहाज चार्टर्ड गरी चैत २८ गते १९३ नागरिक स्वदेश लगेको छ। क्यानाडाले कतार एयरवेजको चैत २९ गते जहाजमार्फत २०७ नागरिक लगेको छ। त्यस्तै चैत २२ गते मलेसियाले ६६ र चेक रिपब्लिकनले १०२ नागरिक घर फर्काएका छन् भने चैत २० गते नेदरल्याण्डले १२४ नागरिक स्वदेश फर्काएको छ।
 

प्रकाशित मिति: : 2020-04-19 09:55:06

प्रतिकृया दिनुहोस्