नयाँ वर्षको आगमनसँगै कोरोना भाइरसको कहर गहिरिँदो छ । संसारभरि कोरोना संक्रामकहरु बाँचिरहन संघर्षरत छन् । मृत्यु–शैय्यामा छटपटाइरहेकाहरु जीवनको अन्तिम पलको प्रतीक्षामा छन् । र, शोकाकूल जीवितहरुलाई मृत प्रियजहरुका शव कल्याणी धरणीमुनि सेलाउन भ्याईभ्याई छ । बचाउने र बाँच्ने संघर्षमाझ धरतीभरि भयबाट उत्पन्न कोलाहल र शोकबाट उत्पन्न चीत्कार व्याप्त छ । लाग्छ, यो त केवल कोरोना आतङ्कको मध्यावधि हो । अस्तित्त्वको अझ निर्मम संघर्ष त बाँकी नै छ । अत्यासमय कोलाहल बाँकी छ । हृदयविदारक चीत्कार बाँकी छ । चीसा सुस्केरा हाल्दै आँखै अगाडि सदाका लागि हराइजाने प्रियजनहरुको संख्या गन्ने क्रम बाँकी छ । र, यो अकथनीय संघर्षको अन्त्यपछि जीवितहरुले सन्तापमय आँसु पुछ्दै क्षतविक्षत जीवनको पुनःनिर्माण प्रारम्भ गर्ने दिन आउन बाँकी नै छ ।
हप्तापछि हप्ता थपिन नथाक्ने हरिप लकडाउनमा कोही नित्य सुरक्षामय घरबन्दीमा मगनमस्त, कोही नित्य संघर्षको मृत्युमय मोर्चामा अस्तव्यस्त । हामी केही हुनेखानेलाई घरबन्दीमा बसेर खान्कीका मीठामीठा परिकार रोज्ने सुविधा छ, अस्पतलामा खुकुरीको धार टेकेर हर्दम् क्रियाशील डाक्टर–नर्सलाई रुखोसुखो गाँस टिप्ने सुविधाधरी छैन । हामीलाई यो हिट फिल्म कि त्यो हिट फिल्म भनी मस्ती वार्ता गर्ने अवसर छ, डाक्टर–नर्सलाई पलभर विश्राम गर्ने अवसरधरी छैन । हामीलाई रुमानी गीतको नशामा लठ्ठिन जति पनि समय छ, डाक्टर–नर्सलाई भयावह जोखिममाझ जीवन कतिन्जेल जोगिने हो भनी घोत्लिने समयधरी छैन । हामीलाई प्रियजनहरुसँग झन्झन् निकट भई माया प्रगाढ बनाउने मौका छ, डाक्टर–नर्सलाई आफ्ना चिचिला लालाबालालाई मयालु हातले स्पर्श गर्ने र म्वाई खाने छूटधरी छैन । हामीलाई ‘तिमी उता, म यता, माझमा लकडाउनको यो व्यथा, अहा म, कठै तिमी !’को भाकामा गजल विलाप गर्ने विलास उपलव्ध छ, डाक्टर–नर्सलाई आँखासामु प्रिय सहकर्मी मरिरहँदा रुने एक पल पनि उपलव्ध छैन ।