काठमाडौंको पेप्सीकोलास्थित काडाँघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने दुई नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि उनीहरू कहाँ काम गर्ने दुई कामदारको पनि स्वाब टेस्ट गरिएको छ।
बेलायतबाट फर्किएका एउटै घरका तीनमध्ये दुईमा कोरोना पुष्टी भएपछि उनीहरू कहाँ काम गर्ने कामदारको पनि बुधबार स्वाब परीक्षण गरिएको हो।
सनसिटीमा स्वास्थ्य विभागमा कार्यरत स्वास्थ्यकर्मीको रोहवरमा उनीहरूको परीक्षण गरिएको हो।
सनसिटीको ‘ए’ ब्लकको १५ तलामाथि १५०१ फ्लाटमा बसोबास गर्ने एउटा परिवारमा गत सोमबार र्यापिड टेस्टमा कोरोना भाइरस प्रमाणित भएको थियो। उनीहरुलाई थप परीक्षणका लागि सोमबार साँझ पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो। उनीहरूको थप स्वाब परीक्षणमा ८१ वर्षीय आमा र ५९ वर्षीय छोरामा मात्र कोरोना भाइरसको संक्रमण प्रमाणित भएको थियो भने बुहारीमा संक्रमण नकारात्मक देखिएको थियो।
यही परिवारमा कार्यरत दुई कामदार हाल सनसिटीको अपार्टमेन्टमै ‘आइसोलेसन’ मा बसिरहेका छन्। उनीहरूको पहिलो चरणको र्यापिड टेस्ट नकरात्मक आएको थियो। त्यसैले उनीहरूको स्वाब टेस्ट पनि गरिएको छ।