भारतको बिहारमा एम्बुलेन्स नपाएपछि तीन वर्षीय बालककाे आमाकाे काखमै मृत्यु भएकाे छ।
गत शुक्रबार एम्बुलेन्स नपाएपछि आमाबुवाले बालकलाई टेम्पोमा राखेर जिहानावादको सरदार अस्पतालमा लगेका थिए। तर सो अस्पतालले पटनाको अर्को अस्पतालमा रिफर गरिदियो। यता एम्बुलेन्सको कुनै व्यवस्था मिलाइदिएन।
बच्चा आमाको काखमा तड्पिरहेको थियो, बाबु एम्बुलेन्सका लागि यता–उता भड्किरहेका थिए। एक घण्टा गुज्रिएपछि बच्चाको हालत निकै खराब भइसकेको थियो र आमा बच्चाको ज्यान जोगाउनका लागि सहयोगको याचना गरिरहेकी थिइन्।
‘एम्बुलेन्स बोलाउन खोजेका थियौं, नपाएपछि टेम्पोमा अस्पतल लग्यौं,’ उनले भने, ‘अस्पतालका डाक्टरहरूले हामीलाई पटना मेडिकल कलेज एण्ड हस्पिटलमा रिफर गरिदिए तर एम्बुलेन्सको व्यवस्था गरिदिएनन्।’
एम्बुलेन्स नपाएपछि उनीहरू फेरि बालकलाई बोकेरै पटनाको अस्पतालका लागि हिँडे। तर ती बालकको बाटोमै आमाको काखमा मृत्यु भइसकेको थियो।
बालकको मृत्युपछि बाटोमा कसैले सहयोग गर्न खोजेका थिए। तर उनका बुबाले अब एम्बुलेन्स नचाहिने बताएका थिए।
बालकका बुबा गिरेज कुमारका अनुसार उनको छोरा दुई दिनअघि देखि बिरामी परेका थिए। ती बालकलाई रूघाखोकी र ज्वोरो आएको थियो।
‘हामीले गाउँकै स्थानीय डाक्टरलाई देखाउँदै थियौं। तर अवस्था बिग्रिदै गयो। हामीले उनलाई अस्पताल लैजान हर काेशिस गर्याैं तर सकेनाैं,’उनले भने।
बच्चाको मृत्युपछि आमाले आफैं उनको शव उठाएर २५ किलोमिटर टाढाको आफ्नो गाउँसम्म पैदलै हिडिंन्। तर, केही पर पुगेपछि केही पत्रकारको पहलमा एक सामाजिक कार्यकर्ताले आफ्नो गाडीमा यी परिवारलाई गाउँसम्म पठाइदिए। भारतीय सञ्चारमाध्यममा खबर छ
उनकी आमाले ती बालकलाई बोकेर रूदै गरेको भिडियो पनि अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा आमाले मृत्यु भइसकेका बालकलाई बोकेकी छिन्।
उक्त घटना बाहिरिएसँगै सरदार अस्पतालका म्यानेजरलाई जिल्ला म्याजिस्ट्रेटले निलम्बन गरेको जिल्लाका म्याजिस्ट्रेट नविन कुमारले बताए।
‘बिरामीलाई तत्काल एम्बुलेन्सको व्यवस्था गर्नुपर्थ्यो। हामीले यो कसरी भयो भन्ने बुझ्दैछौँ’उनले भने।