स्वास्थ्यकर्मी घरदैलोमा

रासस

अमरगढी

कोरोना भाइरसको जोखिम देखिएपछि डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकले उच्च सतर्कता अपनाएको छ। नगरपालिकामा भारतलगायत अन्य ठाउँबाट आएका मानिसको अवस्थाबारे जानकारी लिन स्वास्थ्यकर्मी घरदैलो कार्यक्रममा जुटिरहेका छन्।

सेल्फ क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य अवस्था बुझ्नाका साथै कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मी घरदैलोमा जुटेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताए।

 बस्ती तथा घरमा गएर मास्क वितरणसँगै स्वास्थ्य सचेतीकरण जगाउन अभियान सञ्चालन गरेको उग्रतारा स्वास्थ्य चौकी अमरगढी–७ पोखराका प्रमुख ललित केसीले बताए।

अहिले जिल्ला सदरमुकाममा कीटनाशक औषधि छर्किनेदेखि सबै पालिकामा लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराउन स्थानीयवासी, प्रहरी प्रशासन, जनप्रतिनिधि सक्रियताका साथ काम गरिरहेका छन्।

अमरगढी नगरपालिकाले सार्वजनिक क्षेत्रमा कीटनाशक औषधि छर्कन शुरु गरेको छ। भारतबाट आएका नेपाली धेरै भएकाले अमरगढी नगरपलिकाले वडा नं १० र ११ लाई सिल गरेको हो। सिलसँगै यी दुई वडाभित्रका नागरिकले एउटा घरबाट अर्को घर जानसमेत नपाइने अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। सशस्त्र प्रहरी बल खटिएका जिल्ला प्रशासन कार्यलय डडेल्धुराले जनाएको छ।

जिल्लाको परशुराम नगरपालिकाको तातोपानी, शीर्ष र असुरानी क्षेत्रमा सशस्त्र प्रहरी बल खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनराज पन्तले जानकारी दिए। अहिले जिल्लाको ती नाकामा ३० जनाको टोली खटाइएको छ। डडेल्धुराका तीन साना नाकामा सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।

 

प्रकाशित मिति: : 2020-04-08 11:36:16

प्रतिकृया दिनुहोस्