रासस
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनका कारण स्थगित गरिएको छ।
राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरु भएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्रा चलाउँदा भीडभाड भई कोरोनाको संक्रमण फैलन सक्ने भएकाले नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले स्थगित गर्ने निर्णय गरेको व्यवस्थापन समितिका संयोजक मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए।
बज्रयोगिनी उग्रतारा, चैत्यभराद (बुद्धमूर्ति), सिंहीनी र व्याघ्रिनीको चार मूर्ति खटमा राखेर जात्रा गर्ने परम्परा छ।
तीन हजार ३०० वर्षभन्दा लामो इतिहास भएको जात्रा यसपटक समेत तीनपटक रोकिएको व्यवस्थापन समितिले जनाएको छ। राजा रणबहादुर शाहको शासनकालमा बिफर रोगको महामारी र विसं १९७० मा बज्रयोगिनी मन्दिरमा आगलागी भएका कारण जात्रा रोकिएको थियो। यसपटक भने विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण रोकिएको हो।
शङ्खरापुर नगरपालिका वडा नं ४, ७ र ८ को बीचमा रहेको बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ। खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ। यस वर्ष धुला टोलमा खट राखेपछि अर्को वर्ष चलाखु टोलमा राख्ने यहाँको परम्परा छ।
धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी राख्ने गरिएको साँखु क्षेत्रको ऐतहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक खोज अभियानमा लाग्नुभएका प्रकाशमान श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए।
बज्रयोगिनीबाट खट ल्याएर टोलमा राखेको चौथो दिनमा नाथ सम्प्रदायका योगीले पूजा गरेपछि मूल जात्रा शुरु गरिन्छ। मूलजात्राका दिन खटलाई बोकेर साँखु क्षेत्र घुमाइन्छ। मूल जात्राअघिका चार दिन खट राख्न बनाइएको सत्तलभित्र र मूलजात्रा सकिएपछिका चार दिन सत्तल बाहिर राखी साँखुवासीले प्रत्येक दिन पूजा आराधना र दर्शन गर्ने चलन छ।
जात्राका क्रममा नाथ सम्प्रदायका योगीले भात पकाएर भूत, पिशाचलगायत नकारात्मक तत्वलाई पन्छाउने विधिसमेत हुन्छ। यस वर्ष भीडभाड नगर्ने उद्देश्यले खट जात्रा नगरिए पनि पुजारीबाट हुने पूजा आराधना र नाथ सम्प्रदायका योगीले गर्ने पूजालगायत विधि भने पूरा गरिने संयोजक श्रेष्ठले सुनाए।
जसअनुसार पूर्णिमा अघि पुजारीबाट गरिने विधि शुरु भइसकेको छ। खटयात्रा गर्न नसकिएकामा भने पूर्णिमाका दिन क्षमापूजा गरिनेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया