चीनमा फेरि कोरोना फर्किने डर, ६ लाख ४० हजार नागरिक क्वारेन्टाइनमा

एजेन्सी

बेइजिङ

दोस्रो पटक पनि कोरोना भाइरसको संक्रमण बढ्ने डरले चीनले आफ्नो देशको सम्पूर्ण पर्यटकीय क्षेत्र बन्द गर्नुको साथै ६ लाख ४० हजार व्यक्तिलाई क्वारेन्टाइनमा राख्को छ। 

चीनले हेनान प्रान्तको जिया शहरमा कुनै पनि गतिविधि नगर्न आफ्नो नागरिकलाई आग्रह गरिसकेको छ। यो शहरमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि सरकारले स्थानीय जनतालाई क्वारेन्टाइनमा बस्ने आदेश दिएको हो। 

चीनको हुवेई प्रान्तको उहानबाट गत डिसेम्बरको तेस्रो साता सुरु भएको कोरोना भाइरस संक्रमणको घटना पछिल्लो समय चीनले नियन्त्रणमा ल्याइसकेको समाचार बाहिरिएको थियो। उहानबाट सुरु भएको यो संक्रमणले अहिले आधा विश्व लकडाउनको अवस्थामा छ भने ५० हजारभन्दा मानिसको ज्यान जानुका साथै १० लाख संक्रमित भइसकेका छन्। 

उहान र नजिकैको संघई शहरको जनजीवन सामान्य बन्दै गइरहेको बेला हेनान प्रान्तमा कोरोनाका नयाँ संक्रमित देखिएका छन्। र, संख्या पनि बढ्दै गइरहेको छ। बिना कुनै सरकारी इजाजत कसैलाई पनि एक ठाउँबाट अर्को ठाउँ जाने सुविधा नभएको हेनानका स्थानीयवासीले आफ्नो सोसल साइटमा पोस्ट गरेका छन्। यहाँ गत शनिबार संक्रमणको एउटा घटना रिपोर्ट गरिएको थियो। र, अधिकारीहरूले संक्रमित व्यक्ति जियाका दुई चिकित्सकको संसर्गमा आएको र चेकजाँचको क्रममा दुबैमा संक्रमण देखा परेको बताएको छ।

पछिल्लो संक्रमण चीनको दक्षिणी प्रान्त युनानसँग जोडिएको म्यानमार, लाओस र भितनामबाट आएको दावी गरिएको छ भने आशंकाका बीच यहाँको सीमा बन्द गरिएको छ। चिनियाँ सरकार कोरोनाको संक्रमण फर्किन नदिन निकै चनाखो बनेको छ। यसै कारण सरकारले चीनको सबैभन्दा ठूलो पर्यटकीय क्षेत्र संघईमा पर्यटक आउन रोक लगाएको छ। पछिल्लो समय शहरका बार र रेस्टुरान्ट खुल्दै गएको अवस्थामा फेरि बन्द गरिएको छ। 
 

प्रकाशित मिति: : 2020-04-03 10:55:13

प्रतिकृया दिनुहोस्