कोरोना कहरः महाराष्ट्रको कष्टकर दैनिकी

कोरोना भाइरस (कोभिड–१९) घट्नुको साटो दिनप्रति दिन बढ्ने क्रम जारी छ। कोरोनाका कारण मानिसहरुको दैनिकीमा निकै असर पारेको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स, दक्षिण कोरिया, नेदरल्याण्डलगायतका देशहरुको जनजीवन निकै प्रभावित पारेको छ।

विश्व स्वास्थ्य संगठनले केभिड–१९ नाम दिएको, यो भाइरस पछिल्लो समय दक्षिण एसियाका भारतलगायत अन्य देशहरुमा समेत फैलिन थालेको छ।

भारतको पछिल्लो अर्थतन्त्र सन्तोषजनक थिएन। देशमा भएका बिभिन्न आन्दोलनहरुले समेत आर्थिक पाटोमा भारतलाई माथि उठ्ने अवसर नै दिएनन्। केन्द्रीय सरकारले नयाँ बजेट पेश गरेको महिना दिन नपुग्दै कोरोनाले भारतीय अर्थतन्त्र तहस–नहस बनाएपछि एकपछि अर्को चिन्ता र चासो थपिएको छ।

मुम्बईको लाइफलाइन मानिने स्थानीय रेल बन्द हुँदा सबैभन्दा धेरै कष्टकर दैनिकी बनेको छ। यहाँको जनजीवनमा स्थानीय रेल मुख्य आधार हो। यहाँ दैनिक ८२ लाख यात्री रेलबाट यात्रा गर्छन्। देशले तीन हप्ता लकडाउन खेप्दैछ। महाराष्ट्रलगायत केही राज्यहरूमा कोरोना संक्रमण रोकथाम प्रतिबन्ध लागू गरिएको हप्तादिन पुग्छ थाल्यो।

महाराष्ट्र कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ। अहिलेसम्म तीन जनाले ज्यान गुमाएका छन् भने सबैभन्दा धेरै कोरोना भाइरसका बिरामी पनि महाराष्ट्रमा नै छन्।

भाइरसको चिन्ताले भारतीय नागरिक र भारतमा बसोबास गर्ने प्रवासी नेपालीहरु आतंकित बनेका छन्। राज्य र देश नै अस्त–ब्यस्त भएको यस्तो समयमा महाराष्ट्र राज्यका मुख्यमंत्री उद्धव साहेब ठाकरेले – सबैलाई सुरक्षित रहन आग्रह गर्दै महत्वपूर्ण सेवाहरू जारी रहने आश्वासन दिएका छन्। मुख्यमन्त्री ठाकरेले सामाजिक सञ्जालमार्फत नडराउन र बाहिर नजान आग्रह गरे।

महाराष्ट्र राज्यमा संचालित स्वास्थ्य संस्थाहरु कुनैपनि समय बन्द नहुने राज्य मन्त्रालयले जानकारी दिएको छ। नागरिकलाई सुरक्षित बनाउने तरिकाले खाद्यान्न पसलहरु भने खुल्ला रहने छन्। किराना, दूध, रोटी, फलफूल, तरकारी, अन्डा, मासु, माछा पसल र पेट्रोलियम पर्दाथ जस्ता बस्तुहरु आबश्यकता अनुसार पाइने बताइएको छ।

यहाँ जान अनुमति छैन?

सार्वजनिक स्थानहरू फिल्म हल, जिम, स्पोर्ट्स क्लबहरू खुल्ने छैनन्। होटल, रेस्टुरेन्ट, सम्मेलन स्थल, प्रशिक्षण, अनुसन्धान, कोचिंग संस्थान लगायत पनि बन्द नै रहने छन्। धार्मिक र पूजा स्थलहरू समेत बन्दको सूचिमा छन्। सामाजिक, राजनैतिक, खेलकुद, मनोरन्जन, शैक्षिक, सांस्कृतिक  लगायत कार्यक्रमहरूको अनुमति छैन।

प्रकाशित मिति: : 2020-03-25 23:31:00

प्रतिकृया दिनुहोस्