अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने भनिएकै दिन सातवटा फ्लाइट

रातोपाटी

काठमाडाै‌ं

कोरोना भाइरसका त्रास फैलिरहेको बेला सतर्कता अपनाउन सरकारले चैत ९ गतेबाट नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत ७ गते राष्ट्रको नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेका थिए ।

तर, प्रधानमन्त्री ओलीको सम्बोधनको स्पष्ट व्याख्या नहुँदा चैत ९ गते आइतबार सातवटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणले नै प्रधानमन्त्री ओलीको सम्बोधनलाई अपव्याख्या गरेको छ । प्रधानमन्त्री ओलीको भनाइअनुसार शनिबार मध्यराति (आइतबार बिहान १२ बजे) देखि स्थगित हुनुपर्ने हो ।


तर, आइतबार अर्थात् चैत ९ गते सातवटा अन्तर्राष्ट्रिय उडान रहेको विमानस्थल उच्च स्रोतले जानकारी दियो । स्रोतका अनुसार इतिहादको २, सिल्क एयर १, ओमन एयर १, ड्रुक एयर १ र कतार एयरको २ वटा फ्लाइट रहेको छ ।

आइतबारको अन्तिम फ्लाइट कतार एयरको १०ः३० बजेको रहेको छ । राति ११ बजेभन्दा अगाडि नै कतार एयरको अन्तिम फ्लाइट उडिसक्ने विमानस्थलका कार्यरत एक प्रहरी अधिकृतले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका अध्यक्षसमेत रहेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा शनिबार बसेको मन्त्रीस्तरीय बैठकले नेपालबाट जान पाउने र अन्य मुलुकबाट फ्लाइट आउन नपाउने निर्णय गरेको स्रोतले बतायो । तर, निर्णयबारे नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबीच नै द्वन्द्व पाइएको छ । मन्त्रीस्तरीय निर्णय ठीक नभएको भन्दै प्राधिरकणका कर्मचारीहरु रुष्ट रहेको बताइएको छ ।

‘खाली जहाज बोलाएर नेपालमा रहेका विदेशी नागरिकलाई आफ्नो देश फर्काउने । तर, अन्य मुलुकबाट चैत १९ गतेसम्म नेपाली नागरिक पनि नेपाल आउन नपाउने,’ निर्णय मन्त्रीस्तरीय बैठकले गरेको बैठकमा सहभागी एक कर्मचारीले जानकारी दिए । 

सरकारले विभिन्न प्रभावित मुलुकका नागरिकलाई नेपालमा प्रतिबन्ध लगाइसकेको अवस्थामा प्राधिकरणले प्रधानमन्त्री ओलीको भाषणलाई अपव्याख्या गरेको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् ।

विदेशी नागरिकलाई पठाउन सक्ने राज्यले आफ्नो देशको नागरिक अन्य मुलुकमा अलपत्र परिरहँदा ल्याउन पहल गर्नुपर्ने विमानस्थल प्राधिकरण स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले विदेशबाट नेपाल आउने र नेपालबाट विदेश जाने दुवै खालका उडानलाई समेटेर अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने भनेका हुन् ।

प्रकाशित मिति: : 2020-03-23 06:14:09

प्रतिकृया दिनुहोस्