पहिलो टि २० खेलमा जिम्बावेमाथि घरेलु टोली बंगलादेशले सहज जित हात पारेको छ। सोमबार साँझ ढाकामा सम्पन्न खेलमा ४८ रनले हराउँदै बंगलादेशले दुई टि २० मा सिरिजमा १–० को अग्रता लिएको छ।
बंगलादेशले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावे १९ ओभरमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो।
जिम्बावेका तिनासी स्टेफेनले सर्वाधिक २८ रन जोडे। उनले २० बलमा ४ चौका र १ छक्का प्रहार गरे। यता १६ बलमा ३ चौका र १ छक्का प्रहार गरेका कार्ल मुम्बाले २५ रन बनाए। यस्तै कप्तान सिन विलियम्स, रिचमोन्ड मुतुम्बामी र डोनाल्ड टिरिपानोले समान २०/२० रन जोडे।
बंगलादेशका तीब्र गतिका बलर मुस्ताफिजुर रहमानले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। स्पिनर अमिनुल इस्लाम ३ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए। त्यस्तै अफिफ हुसैन, मोहम्मद सैफुद्दीन र शैफुल इस्लाम १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ३ विकेट गुमाएर २०० रन बनाएको थियो।
बंगलादेशका लागि सौम्य सरकारले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा लिटोन दासले ५९ रनको अर्धशतकीय इनिङ्स खेले।
सौम्यले ३२ बलमा ४ चौका र ५ छक्का सहित ६२ रनमा नट आउट रहेका हुन भने लिटन दास ३९ बलमा ५ चौका र ३ छक्का सहित ५९ रनमा एलबिडब्लू आउट भएका हुन्।
यस्तै तमिम इकबालले ४१ रन जोड्दा मुस्फिकर रहिमले १७ रन बनाए। कप्तान ममुदउल्लाह १४ रनमा अविजित रहे।
जिम्बावेका सिकन्दर राजा,क्रिस एमपुफु र वेस्ली माधिभेरेले एक एक विकेट लिए।