‘के रे! के रे… फर्किएछ रे? हैन के भन्छे यस्ले? तेत्रो पैसा ऋण खोजेर गको हैन र? त्यही नि फर्केछन्? भन्न त भएन तर ठीकै भएछ खुब धाक् लगाउँथिए त्यस्का बा आमाले…अनि ऋण तिरेर भ्याएछन् कि नाइ कुन्नी?’ धादिङको बीचबजारको बीचमै रहेको चौतारामा फात्सुङ पढेर बसिरहेकी थिएँ मेरो कानमा त्यो आवाज ठोक्किन पुग्यो।
फर्केर हेरें। दुई जना अधबैंसे दिदीहरू चौताराको अर्को छेउमा बसेर गफ गर्दै हाँसेको देखें। अचम्म लाग्यो उनीहरू मज्जाले हाँसेर कुरा गर्दा। हुन त मान्छेको बानीनै त्यस्तै हुन्छ। अर्काको प्रगतिमा रिस गर्ने अनि अर्काको दु:खमा खुसी मनाउने। झन् गाउँघरमा यस्ता प्रवृत्तिको त कुरै नगरौं।