विश्वराज पछडङ्ग्या
झन्डै एक सय ६० वर्षअघि सरकारले कर उठाउन पठाएपछि सुब्बा पद्मनाथ जोशी काठमाडौँबाट पश्चिम तराईको बाँके पुगे । उनले सहयोगीका रूपमा रूपाखेती थरका एक युवकलाई पनि लगेका थिए । भारतबाट आउजाउ हुने बाँकेको नेपालगन्ज क्षेत्रमा पद्मनाथका सहयोगीले बयर र सितहानाका झाडी फाँडे । सानो घर बनाए र तरकारी उमार्न बारी पनि । उनले सुब्बा पद्मनाथको पनि घर बनाइदिए । उनका लागि पनि बारी तयार भयो । र, त्यो ठाउँको नाम घरबारी रह्यो ।
विस्तारै विस्तारै वरिपरि घर थपिन लागे । त्योसँगै सरकारी कार्यालय खुले । नेपालगन्जको बस्ती विकास हुँदै गएपछि त बाँके र बर्दियाका जमिन्दार र धनीमानी पनि त्यही ठाउँतिर आकर्षित भए । उद्योगी, व्यापारी र आर्थिक रूपमा सम्पन्न व्यक्तिहरूको रोजाइमा त्यही ठाउँ पर्न थाल्यो । केही दशकयता त विस्तारै स्थानीय बासिन्दाको ठाउँमा बसाइ सरेर आएकाहरूले चहलपहल बढेको छ । रैथाने अल्पसंख्यकमा परे पनि त्यो ठाउँको नाम भने उही छ, घरबारी । तर, अब यो घर र बारीको टोल भने रहेन । यो सुब्बा पद्मनाथको घरबारीमा तरकारी होइन, बरु खेलाडी हुर्किरहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको थलोका रूपमा चिनिन थालेको छ, घरबारी टोल । अब त खेलाडी नभएको घर प्रायः भेटिन्न ।