प्रचण्ड मंगलबार अमेरिका छोड्दै, विहिबार नेपाल पुग्ने

बीएल फाइल

अमेरिका भ्रमणमा रहेका नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार नेपाल फर्कने भएका छन्।

मार्च २६ मा अमेरिकाबाट प्रस्थान गर्ने प्रचण्ड मार्च २८ मा नेपाल पुग्नेछन् । उनीसँगै पत्नी सीता, छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि फर्कनेछन्।

पत्नी सीताको उपचारका लागि अमेरिका आएका प्रचण्ड मंगलबार बाल्टिमोरस्थित जोन हप्किन्स अस्पताल पुगेका थिए। प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी(पीएसपी) लगायतका रोगबाट ग्रस्त सीताको त्यही स्वास्थ्य परीक्षण गराइएको थियो।डाक्टरहरूले के सल्लाह दिए ?, त्यसबारेमा भने केही बताइएको छैन।

यसअघि काठमाडौंबाट उड्नुअघि उनले आफ्नो भ्रमण बढीमा १० दिनको हुने बताउका थिए। पत्नीको उपचार गर्न समय लाग्ने भए उनलाई छोरी ज्वाइँसँग छोडेर नेपाल फर्कने बताएका थिए।

प्रचण्ड गत सोमबार अपरान्ह अमेरिका आइपुगेका थिए। उनी अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको सरकारी निवासमा बसेका थिए।

प्रचण्डले भ्रमणलाई लिएर अमेरिकामा रहेका नेपालीहरूले समर्थन र विरोधमा सामाजिक सञ्जाल खासगरी फेसबुकका भित्ताहरू रंगाएका थिए। केन्टकी स्टेट युनिभर्सिटीका रिसर्च एशोसियट डा. तिलक श्रेष्ठले उनलाई आतंककारी भन्दै पक्राउका लागि एफबीआईमा इमेल उजुरी दिएका थिए। त्यसपछि उनको भ्रमण केही विवादित बन्न पुगेको थियो।

प्रकाशित मिति: : 2019-03-24 11:25:05

प्रतिकृया दिनुहोस्