चितुवाको आक्रमणमा ज्यान गुमाउने बालिकाको परिवारलाई राहत प्रदान

डिभिजन वन कार्यालय कास्कीले चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत प्रदान गरेको छ। नौ वर्षीया बालिका पूजा विकको परिवारलाई ५० हजार राहत प्रदान गरेको हो।

मृतकको परिवारलाई किरिया खर्चबापत शनिबार उक्त रकम प्रदान गरेको वन कार्यालयका प्रमुख एवं डिभिजनल वन अधिकृत रामकाजी श्रेष्ठले जानकारी दिए।

वन्यजन्तु क्षतिको राहत निर्देशिका २०६९ बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने नीति रहेपनि आवश्यक कागजपत्र तयार गर्न समय लाग्ने भएकाले तत्कालका लागि सो सहयोग प्रदान गरिएको उनको भनाई छ।

पोखरा महानगरपालिका–३२ कोठे गाउँका दीपक र अप्सरा विकका नौ वर्षीया छोरी पूजालाई बिहीबार राति चितुवाले आक्रमण गर्दा बालिका विकको मृत्यु भएको थियो। छिमेकीको घरबाट खेलेर घर फर्किने क्रममा बालिकालाई चिुतवाले आक्रमण गरेको हो।

चितुवा पुनःबस्तीमा आउनसक्ने भएकाले नियन्त्रणका लागि घटनास्थल नजिकै एउटा काठको खोर राख्ने तयारी गरिएको डिभिजनल प्रमुख श्रेष्ठले बताए।

वन कार्यालयले साँझपख बालबालिकालाई एक्कलै हिँडडुल गर्न नदिन तथा वयस्कसमेत दुई जना मिलेर मात्र हिँड्न अनुरोध गर्दै विद्यालय तथा टोलमा चितुवा आक्रमणबाट जोखिन सचेतनाका कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

प्रकाशित मिति: : 2020-02-09 04:34:16

प्रतिकृया दिनुहोस्