खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न र इन्डक्सन चुलोको बिक्री गर्नका लागि घुम्ती सेवा सञ्चालन गरेको छ।
उपत्यकाका उपभोक्ताको घरघरमा सेवा पुर्याउने उदेश्यले उक्त सेवा सञ्चालन गरिएको हो। घुम्ती सेवाका लागि एक भ्यान र एक ट्रकमा खाद्यान्न र इन्डक्सन चुलो लिएर उपत्यका विभिन्न ठाउँमा जाने गर्दछ।
घुम्ती सेवाबाट उपभोक्ताले घर आगनमै खाद्यान्न किन्न पाएको र बजार जान झन्झट हटेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए।
'हामीले उपभोक्ताको हितलाई ध्यानमा राखेर घुम्ती सेवा सञ्चालन गरेका हौँ', उनले भने, 'सेवाबाट उपभोक्ताले सहुलियत दरमा घर अगाडि खाद्यान्न पाइरहेका छन्।'
घुम्ती सेवा सञ्चालन गर्दा उपभोक्ताको आकर्षण बढेकाले थप दुई नयाँ भ्यान किन्ने तयारीमा रहेका उनले बताए। 'सार्वजनिक बिदाको दिनबाहेक सबै दिनमा घुम्ती सेवा सञ्चालन हुने गर्छ', उनले भने, 'कुन ठाउँमा कहिले खाद्यान्न लिएर जाने भन्नेबारेमा जानकारी गराउन सर्वसाधारणलाई अघिल्लो दिन नै विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार गरिन्छ।'
घुम्ती सेवाबाट दैनिक ९० हजार बरावरको खाद्यान्न र इन्डक्सन चुलो बिक्री हुने उनको भनाई छ। खाद्यान्नमा चामल, दाल, चिनी, गेडागुडी रहेका छन्।