‘मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ कार्यान्वयन

सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षममा नमुनाका रुपमा ‘मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ कार्यान्वयन गर्न लागेको छ।

स्वास्थ्य संस्थासम्म पुगेर आफ्नो स्वास्थ्योपचार गर्न नसक्ने ज्येष्ठ नगारिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी उक्त कार्यक्रम कार्यान्वयन हुन् लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा चेतराज जोशीका अनुसार टाउको दुख्ने, रक्तचापजस्ता समस्याबाट पीडितको उपचार गर्ने व्यवस्था गर्न लागिएको छ।

'यसका लागि सबै जिल्लामा आवश्यक पर्ने स्वास्थ्यकर्मीको भर्ना प्रक्रियासमेत शुरु भइसकेको छ' उनले भने। यो कार्यक्रमको प्रभाव सकारात्मक देखिएमा अर्को वर्ष बृहत् रुपमा गर्ने योजना सामाजिक विकास मन्त्रालयको छ।

यसका लागि चालु वर्षमा रु ३० लाख बजेट विनियोजन गरिएको छ। ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको जनसङ्ख्याका आधारमा छनोट भएका २९ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुन लागिएको प्रमुख जोशीले जानकारी दिए।

यस कार्यक्रमअन्तर्गत योग, ध्यान, जीवनशैली, परामर्शजस्ता स्वास्थ्यसम्बन्धी गतिविधि गर्न लागिएको छ। 

प्रकाशित मिति: : 2020-02-06 01:38:38

प्रतिकृया दिनुहोस्