सरकारले चीनबाट फर्किने नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा बसेको सुरक्षा निकायका प्रमुखहरु सहभागी बैठकले तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण गरेर अन्तिम टुंगो लगाउने पनि निर्णय गरेको छ । स्वास्थ्य र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले निरीक्षण गरेपछि यसको अन्तिम निर्णय गरिनेछ ।
खरिपाटीलाई सम्भावित स्थलका रुपमा छनोट गरेको तर यसको अन्तिम निर्णय गर्न बाँकी रहेको स्रोतले बतायो। कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेइ प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काउने तयारी सरकारले गरेको हो। त्यहाँ रहेका १ सय ८० विद्यार्थीलाई नेपाल फर्काइँदैछ। स्वदेश फर्काएपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ।
क्वारेन्टाइनका रूपमा राखिने नेपालीको उपचार, खानालगायतका जिम्मेवारी सरोकारवाला निकायले गर्नेछन्। क्वारेन्टाइनमा चिकित्सकसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिनेछन्।
कोरोना भाइरसको उद्गम स्थल वुहानमा १८० जना नेपाली नागरिकले आफूहरूको उद्धार गर्न विवरण पेस गरेका छन्। केही दिनअघि चीनस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने नेपालीलाई विवरण पेस गर्न आग्रह गरेको थियो। दूतावसको आह्वान अनुसार १८० जना नेपालीले विवरण पेस गरेको दूतावासले जनाएको हो।
चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ४ सय ९१ पुगेको छ।
कोरोनाका कारण चीनमा मात्रै २० हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।
चीनमा एकैदिन तीन हजारभन्दा बढीमा सङ्क्रमण देखिएको र सोमबारमात्रै ६४ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्। चीनबाहिर २ जनाले ज्यान गुमाएका छन्।
चीनभन्दा बाहिर २४ देशमा गरी अहिलेसम्म एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भैसकेको छ। हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ। ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ।