इलाका प्रहरी कार्यालय सिमराले अवैद्य गतिविधिमा संलग्न चारजनालाई पक्राउ गरेको छ। प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी हातहतियार, लागुऔषध र ठगी कार्यमा संलग्न चारजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका ११ का ३८ वर्षीय दीपलाल राम, निजगढ नगरपालिका १३ का मंगलसिंह तामाङ, रौतहट चन्द्रपुर नगरपालिका ८ का गनहर बैठा र कलैया उपमहानगरपालिका २६ का फुल सरिक मिया धोवी रहेका छन्।
प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार पक्राउ परेकामध्ये रामलाई नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ६ थान गोलीसहित नियन्त्रणमा लिइएको हो।
रामलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हातहतियार तथा खरखजाना मुद्धामा कारवाही थालिएको प्रहरीले बताएको छ। यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका २१ चकरीबाट अमलेखगञ्जतर्फ आइरहेको मोटरसाइकल चेकजाँच गर्दा प्रहरीले अवैद्य लागुऔषध गाजासहित तामाङ र बैठालाई नियन्त्रणमा लिइएको छ। उनीहरुको साथबाट प्रहरीले पाँच सय ग्राम गाजा र ना२०प ७९८२ नम्बरको मोटरसाइकल बरामद गरेको छ।
पक्राउ परेकामध्ये मिया धोवी भने ठगी कार्यमा संलग्न रहेको प्रहरीको भनाई छ। धोवीले नेटवर्किङ व्यापारमा फाइदा हुने भन्दै विभिन्न व्यक्तिसँग पैसा असुल्ने गरेको प्रहरीको दाबी छ।
धोवीको साथबाट प्रहरीले विभिन्न व्यक्तिको १७ थान नागरिकताको प्रतिलिपी र चाँदीको भाँडोमा सिसाजस्तो टल्कने वस्तु बरामद गरेको छ। मियाले उक्त टल्कने वस्तु नागमणी रहेको र दुई करोड मूल्य पर्ने भन्दै स्थानीयलाई ठगी गर्न लागेको सूचना आएपछि पक्राउ परेका हुन्।