नेपाली भाषालाई प्राथमिकता दिनुपर्छ : शिक्षामन्त्री पोखरेल 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

आइतबार विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौँको ७४औँ वार्षिकोत्सव समारोहमा बोल्दै शिक्षामन्त्री पोखरेलले अङ्ग्रेजी भाषामा भन्दा नेपाली भाषामा बढी प्राथमिकता दिनुपर्ने बताएका हुन्।

'दक्षिण एशियाको पुरानो भाषाका रुपमा रहेको नेपाली भाषालाई बलियो बनाउनुपर्छ।' अङ्ग्रेजी भाषाको प्रयोग बढ्दै जाँदा नेपाली भाषा कमजोर बन्दै जाने सम्भावना बढेर गएको उनको भनाई छ।

शिक्षाले देशको समग्र विकासको खाका तयार पार्ने बताउँदै उनले शिक्षा क्षेत्रको विकास बिना सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता पाउन नसक्ने बताए।

'नयाँ–नयाँ प्रविधिको उपयोग गर्न नसके मुलुकले विकासमा फड्को मार्न सक्दैनन्' उनले भने, 'राज्यले प्रविधिमैत्री शिक्षामा जोड दिएको छ।'

पहिले/पहिले शिक्षक र पुस्तकलाई ज्ञानको केन्द्र मानिने भन्दै उनले प्रविधिको विकाससँगै अहिलेका विद्यार्थीले इन्टरनेटको प्रयोग धरै गर्न थालेको बताए।

'शिक्षालाई उत्पादनशील, सभ्य र सुसंस्कृत बनाउन विद्यालयलाई सबल बनाउनुपर्छ', उनले भने। सामुदायिक विद्यालयमा सिकाइ केन्द्रीत सुधारकोे आवश्यकता रहेको उनको भनाई छ।

उपत्यकामा दश प्रतिशत सामुदायिक र ९० प्रतिशत निजी विद्यालय रहेको जानकारी दिँदै सामुदायिक विद्यालयले निजी विद्यालयलाई पछि पार्नुपर्ने उनले बताए। 'अधिकांश सामुदायिक  विद्यालय भौतिकरुपमा सबल छन्' उनले भने, 'तर शैक्षिक गुणस्तर वृद्धि गर्न सकिरहेका छैनन्।'

प्रकाशित मिति: : 2020-02-03 05:17:46

प्रतिकृया दिनुहोस्