सवैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ। चीनसँगै करिब दुई दर्जन अन्य देशहरुमा पनि यो भाइरसको सङ्क्रमण देखिन थालेको हो।
कोरोना भाइरसका कारण अहिलेसम्म १७० जनाको मृत्यु भइसकेको र अरु सयौँ व्यक्ति सङ्क्रमित भएको पुष्टि भइसकेको छ। यो भाइरस चीनको मध्य क्षेत्रमा पर्ने वुहान शहरमा सवैभन्दा पहिले देखिएको थियो।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार दिएको जानकारी अनुसार कोरोना भाइरस अहिलेसम्म ७७ सय ११ जनामा देखिएको पुष्टि भएको छ। चीन बाहेक मकाउ र हङ्कङमा धेरै व्यक्ति (८० जना) मा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि भएको बताइएको छ।
नोपालमा पनि ३ जना यस भाइरसको संक्रमित भेटिएका छन् भने एक नेपालीको चीनमा नै मृत्यु भइसकेको छ। अझै चीनको वुहान प्रान्तमा २०० भन्दा बढि नेपाली रहेको बताइएको छ। वुहान शहरमा रहेका नेपाली विद्यार्थीमध्ये १ सय ७७ जना नेपाली दूतावासको सम्पर्कमा छन्।
सरकारले त्यहाँ रहेका विद्यार्थीलाई स्वदेश ल्याउन प्रक्रिया सुरु गरेको छ। विद्यार्थीलाई स्वदेश ल्याउनको लागि सहजीकरण गर्न चीन सरकारलाई पत्र पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसरी ल्याउने विद्यार्थीलाई आइसोलेसन अर्थात छुट्टै ठाउँमा राख्ने व्यवस्था भएपछि मात्र चीनले फिर्ता ल्याउन अनुमति दिनेछ। यसरी ल्याइएका विद्यार्थीलाई आवश्यक पर्दा निगरानीको लागि छुट्टै ठाउँको व्यवस्था गर्न काठमाडौंका केही अस्पताललाई निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ।
उनीहरु कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भए पनि मनोवैज्ञानिक त्रासमा छन्। कोरोना भाइरसको संक्रमणको रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्चस्तरीय समिति पनि बनाएको छ।
मन्त्रालयले चीनमा रहेका नेपालीलाई नआत्तिन तर सजक हुन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ती निकालेर चीन सरकारले चालेका कदमलाई मनन गरी सुरक्षाका लागि चालिएका सबै प्रयासमा सहयोग गर्न आग्रह गरेको छ।
वुहानमा रहेका नेपालीलाई बेइजिङमा रहेको नेपाली दूतावासको नियमित सम्पर्कमा रहन पनि मन्त्रालयले भनेको छ। स्वास्थ्य मन्त्रालयले चीनमा रहेका नेपालीको स्वास्थ्य सुरक्षा तथा अरु आवश्यक व्यवस्थाका लागि प्रतिवद्ध रहेको पनि जनाएको छ।