औधोगिक क्षेत्रको विकासलाई प्राथमिकता : रक्षामन्त्री पोखरेल 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले औधोगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताएका छन्।

देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २९औँ वार्षिकोत्सव समारोहमा बोल्दै रक्षामन्त्री पोखरेलले आवश्यकतामा आधारित उद्योगलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।

'देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सरकारले उद्योग स्थापनामा जोड दिएको छ', उनले भने। सबै प्रदेशमा औधोगिक क्षेत्र स्थापनामा सरकार लागेको उनको भनाइ थियो।

उनले जनता फर्मास्युटिकल्स गौरव गर्न लायक उद्योगका रूपमा विकास हुँदै गएको बताए। जनतासँग गाँसिएको संस्थामा मात्र बाँच्न सक्ने हुँदा कम्पनीले स्वास्थ्य चेतना अभिवृद्धिमा सहयोग पुर्याउन जरुरी रहेको उल्लेख गर्दै उनले औषधिको अध्ययन अनुसन्धानमा समेत केन्द्रित हुन कम्पनीलाई आग्रह गरे।

औषधि उत्पादनका लागि आयात हुने कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क कम गर्न सरकार गम्भीर भएर लाग्ने उनको भनाइ थियो। कुल खपतमध्ये ४५ प्रतिशत औषधि स्वदेशमै उत्पादन हुने गरेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले फर्मास्युटिकल्सले टोखा नगरपालिकाको गरिमा बढाएको बताउँदै राष्ट्रको समृद्धिका लागि उद्योगको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे। टोखाको विकासमा देउराली जनताले सहयोग पुर्याएको प्रमुख अधिकारीको भनाई छ।

 

प्रकाशित मिति: : 2020-01-31 05:17:15

प्रतिकृया दिनुहोस्