टिपरले किचेर मृत्यु भएका सिंहका परिवारले आज पनि शव बुझेनन्

वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा मंगलबार टिपरले किचेर मृत्यु भएका कालिकोट महावै गाउँपालिका– ३ सिमखेत २१ वर्षीय केशरबहादुर सिंहका परिवारले आज पनि शव बुझेका छैनन्। 

मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिकै पश्चिम दिशाबाट पूर्वतर्फ आइरहेको भे १ ख २२४२ नम्बरको टिपरले सोही दिशाबाट पूर्वतर्फ आइरहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिंहको मृत्यु भएको थियो।

मृत्युपश्चात् पीडित परिवारको सहमतिविना नै प्रहरीले बल प्रयोग गरेर शव उठाएकोप्रति विरोध गर्दै उनीहरुले आज साँझ ६ः३० बजे सडकमा प्रदर्शन गरेका थिए।

मृतक सिंहको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ। पीडित परिवारले टिपर धनी हरि बिसी नआउञ्जेल र उचित क्षतिपूति उपलब्ध नगरुञ्जेल शव नबुझ्ने र बिहीबार सडक यातायात बन्द गर्ने तथा बाँकी सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।

 यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहीबारसम्म पीडित परिवारसँग उचित छलफल गरेर समस्या समाधान गर्ने बताएको छ। 

सिंहको मृत्यु भएपछि तनाव बढेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रुप लिँदा हिजो प्रहरीले २ राउण्ड हवाई फायर गरेको थियो।  

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन्।

घाइतेहरुको उपचार अहिले स्थानीय अस्पतालमा भइरहेको छ।

आन्दोलनकारीले जिल्ला उद्योग बाणिज्य संघको कार्यालय, एरिचोकमा रहेको प्रहरी बिट अन्य ठाउँमा सरकारी धनमालको नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन खोज्दा आन्दोलनकारी प्रहरीमाथि नै जाइलाग्न थालेपछि जिल्ला प्रशासनले मंगलबार बेलुका ६ः३० बजेदेखि बुधबार बिहान ६ः०० बजेसम्मका लागि लागू हुनेगरि कर्फ्यू जारी गरेको थियो। उक्त कफ्र्यू आदेश आजबाट फुकुवा गरिएको छ। तर जनजीवन भने सामन्य बन्न सकेको छैन्। 

प्रकाशित मिति: : 2020-01-30 10:51:27

प्रतिकृया दिनुहोस्