पूर्वराष्ट्रपति यादवले भने : 'विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्छ'

फाइल तस्बिर

पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्ने बताएका छन्।

तनहुँमा बुधबार पत्रकारसंग कुरा गर्दै यादवले विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम रोक्नुपर्ने बताएका हुन्।

'वनजङ्गल नेपालको सम्पत्ति' उनले भने, 'सरकारले यसलाई जोगाउनुपर्छ।' विमानस्थल, राजमार्गलगायत निर्माण गर्दा वनजङ्गलको फँडानी भएको उनको भनाई छ।

'पहाडमा जथाभावी डोजर लगाएर सडक बनाउने काम भएको छ', उनले भने, 'वैज्ञानिक अध्ययन नगरी वनजङ्गल मास्ने काम भइरहेको छ।'

झापादेखि डडेल्धुरासम्म राजमार्ग बनाउने क्रममा डाँडाकाँडा भत्काउने काम भएको उल्लेख गर्दै उनले भने, 'वनजङ्गल काटिएको देख्दा आँखाबाट आँशु झर्छ।'

प्रकृतिले नेपाललाई सुन्दर वरदान दिएको उनले बताए। 'मुलुकलाई समृद्ध बनाउन प्रकृतिको उपयोग गरौं', उनले भने, 'प्रकृतिका हिसाबले नेपाल संसारकै धनी देश हो।'

प्रकाशित मिति: : 2020-01-30 01:26:42

प्रतिकृया दिनुहोस्