प्रदेशको नाम र राजधानी पञ्चायतको भन्दा फरक छैन: बाबुराम भट्टराई

बिएल संवाददाता

काठमाडाै‌ं

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसीमा गुट र द्वन्द्वको गन्ध देखिनु गलत भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले नेपालजस्तो देशमा भारत–चीन र अमेरिकासँग सन्तुलित सम्वन्ध राख्ने विषयमा अनावश्यक विवाद हुनु जरुरी नरहेको पनि बताएका हुन्। भट्टराईले संघीयता नाममात्रको भएको र प्रदेशको नाम र राजधानी हिजो पञ्चायतको भन्दा फरक नरहेको उल्लेख गर्दै सुशासन र भ्रष्टाचारका विषयमा संसदमा बहस हुन नसकेको बताए।

‘पछिल्ला घटनाक्रमबाट संविधानले अगाडि सारेका संघीयता समावेशिता जस्ता मुद्दा खोसिएका छन्, संघीयता नाममात्रको हुँदै गएको छ’ उनले भने ‘प्रदेशका जुन ढंगले नामाकरण र राजधानी किटिदैछद्धन्। हिजो पञ्चायतको अञ्चल भन्दा फरक छैन।’

भट्टराईले नेपालको संसद झिनामसिना विषयमा नै अल्झिएको र सांसदहरुमा संसदप्रति आकर्षण नै नभएको बताएका छन्। उनले गम्भीर बहस र राष्ट्रिय मुद्दामा संसदमा छलफल नै हुन नसकेको बताए।

‘विश्वका धेरै देशका सभामुखले प्रतिपक्षका विचारहरुलाई नै महत्व दिएको र सदनलाई बहसको थलो बनाएको हामीले देखेका छौं’ उनले भने ‘तर दुखसाथ भन्नुपर्छ, हामी गम्भीर बहसमा सहभागी हुँदैनौं। राष्ट्रिय मुद्दाका विषयमा भन्दा खाली झिना मसिना विषयमा छलफल हुन्छ, सदनप्रति हाम्रो आकर्षण नै छैन।’

उनले आर्थिक वृद्धि र समृद्धि हासिल गर्ने लक्ष्य नदेखिएको भन्दै जनशक्ति पलायन हुँदै गएको, उद्योगहरु बन्द भएको र कमिसनखोरीमात्र बढेर देश विकास नहुने बताए।
 

प्रकाशित मिति: : 2020-01-29 04:35:45

प्रतिकृया दिनुहोस्