अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने कांग्रेसकाे तयारी

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति यथावत राखेर त्यसभन्दा तलका निकायका अधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ। 

केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले यसअघि बहुमतबाट गरेको निर्णय सहमतिबाट सच्याउने निर्णय गरेको हो। केन्द्रीय महाधिवेशन यसअघि तोकिएको मिति २०७७ फागुन ७ गतेदेखि १० गतेसम्म नै हुनेगरी तल्ला तहका अधिवेशन केही अगाडी सारिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। अब १४ औं महाधिवेशन अन्तर्गतका अधिवेशनहरु २०७७ कात्तिक १६ गतेबाट सुरु हुनेछन् भने कात्तिक १६ गते वडा अधिवेशन गर्ने मिति तय भएको शर्माले बताए।.

यसअघि पुस ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट सभापति शेरबहादुर देउवाले बहुमतले मंसिर ९ गते वडा अधिवेशन गर्ने निर्णय गरेका थिए। त्यो बैठकमा संस्थापन इतर समूह सहभागी भएको थिएन। सोमबारको बैठकमा भने संस्थापन इतर समूह पनि सहभागी थियो। प्रवक्ता शर्माका अनुसार सहमतिमा अव गाउँरनगर अधिवेशन ०७७ कात्तिक १८ गते हुनेछ। प्रदेशसभा अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय पनि सर्वसम्मतिले बैठकले गरेको छ। एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन पनि त्यसैदिन हुनेछ।

त्यस्तै एकभन्दा बढि प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन कात्तिक २५ गते र प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने निर्णय बैठकले सर्वसम्मतिले गरेको प्रवक्ता शर्माले जानकारी दिए।  सहमतिमा यो निर्णय भएसँगै कांग्रेसमा देखिएको मंसिर २६ गतेदेखिको गतिरोध तत्कालका लागि अन्त्य भएको छ।

प्रकाशित मिति: : 2020-01-28 10:45:08

प्रतिकृया दिनुहोस्