सञ्चालक फरार भएपछि सुन पसलमा प्रहरीकाे सुरक्षा !

वीरगञ्जस्थित माईस्थानमा रहेको केपी स्वर्णकला सुन पसलका सञ्चालक बेपत्ता भएपछि प्रहरीले पसलको सुरक्षा दिइरहेको छ। राजस्व हिनामिना गरेको ठहर गरेर आरोपित बनाएका कन्हैया सर्राफ विगत ७ महीनादेखि फरार भएपछि प्रहरीले पसलको सुरक्षा गरेको हो। 

प्रहरीले असार ९ गते सो पसलमा छापामारी गरी  ४२ लाखसहित ८ जनालाई पक्राउ गरेको थियो। ८ जनामध्ये ५ जना रिहा भइसकेका छन् भने तीनजना अहिले पनि पर्सा कारागारमा रहेका छन्। प्रहरीले अवैध हुन्डी कारोबार गरेको आरोपमा ४१ लाख ९२ हजार नगद, २ किलो चाँदी बरामद गरेको थियो। 

राजस्व हिनामिना गरेको ठहर गर्दै आन्तरिक राजस्व कार्यालय, पर्साले पसलमा सिलबन्दी गरी प्रहरीको जिम्मा लगाएको छ। आन्तरिक राजस्व कार्यालयका निमित्त प्रमुख डम्बर गुरुङले सुन पसलका सञ्चालक कन्हैया कार्यालयमा हाजीर नभएसम्म तालाबन्दी नखोलिने बताएका छन्। 

पसलभित्र के–कति सम्पत्ति, कति राजस्व हिनामिना भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। 

यता पर्सा प्रहरीले तालाबन्दी गरिएको सुन पसलको सुरक्षा निगरानी गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताएका छन्।

हुण्डी कारोवारको आरोपमा केपी स्वर्णकला सुन पसलबाट प्रहरीले बिहार पूर्वीचम्पारण भवानीपुरका गुलाब साह, वीरगञ्ज गहवाका चन्दन सर्राफ, रामटोलका राकेशकुमार सिंह, बहुअर्वाभाठाका सुजीत कुमार, छिपहरमाई गापा–२ चेरगाहाका राजकुमार साह, रौतहट, चपुरका विनोद सोनारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका सबैजना कामदार रहेका छन्। पसलका सञ्चालक फरार रहेको र उनी अहिले सिमा पारी रक्सौलमा बस्दै आएको श्रोतले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-01-27 06:21:04

प्रतिकृया दिनुहोस्