नगरकोट सडक निर्माण सम्पन्न नभए कारवाही गर्छौं: मन्त्री बाँस्कोटा

सूचना तथा सञ्चार प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वैशाखसम्ममा भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न नभए निर्माण व्यवसायीलाई कारवाही गरी क्षतिपूर्तिसमेत तिराइने बताएका छन्।

नगरकोटमा आजदेखि शुरु भएको तीनदिने दोस्रो नगरकोट महोत्सवको उद्घाटन गर्दै उनले भक्तपुर–नगरकोट सडक निर्माण सम्पन्न नभए सार्वजनिक खरिद ऐनअनुसार असुलउपर गरी क्षतिपूर्ति भराइने बताएका छन्।

मन्त्री बाँस्कोटाले २२ वर्ष देश चलाउनेहरुले भत्काएर गए पनि वर्तमान सरकारले बनाउनेतर्फ लागेको चर्चा गर्दै एउटा घर बनाउने कुरा नभई देश बनाउने कुरा भएकाले केही समय ढिला हुँदा आत्तिन नहुने भनाइ राखे। विकासको गतिलाई वर्तमान सरकारले तीव्र रूपमा अगाडि बढाएको चर्चा गर्दै उहाँले देश सङ्घीय संरचनामा गएकाले विकासको गति पनि क्रमिक रूपमा अगाडि बढ्दै गएको बताए।

भ्रमण वर्ष २०२० लाई सफल पार्न नगरकोट–नाल्दुल पर्यटन विकास समितिले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल भ्रष्टाचारको सूचाङ्कमा घट्दै जानु सकारात्मक रहेको उल्लेख गरे।

प्रदेशसभा सदस्यद्वय वसुन्धरा हुमागाईं र कृष्णलाल भँडेलले भक्तपुर–नगरकोट सडक विस्तार कार्य ढिलाइ हुँदा जनतामा नकारात्मक असर परेको बताए। त्यस अवसरमा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा, नगरकोट–नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङलगायतले नगरकोटको विकासमा सबै अग्रसर हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: : 2020-01-25 12:31:09

प्रतिकृया दिनुहोस्