टिपर आतंक:  तीव्र गतिमा कुदाउँछन्, अरुलाई बाटो छाड्दैनन्

वृद्धा र बालिकाको मृत्यु टिपरको तीव्र गतिका कारण निम्तिएको दुर्घटनासँग जोडिएका छन् । सडकमा प्रतिस्पर्धात्मक रुपमा तीव्र गतिमा कुदाइने टिपरका कारण प्रदेश १ का तराईका जिल्लामा सडक दुर्घटना बढिरहेका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ कृष्ण मन्दिर छेउमा मे १ ख ६ सय ४९ नम्बरको टिपरले ठक्कर दिँदा गत शनिबार ६९ वर्षीया तुलसा गौतमको मृत्यु भयो । 

एकाबिहानै हुस्सु लागेको बेला तीव्र गतिमा रहेको टिपरले सडक पार गर्ने क्रममा वृद्धालाई ठक्कर दिँदा घटना भएको प्रहरीले जनाएको छ। 

मोरङको उर्लाबारी नगरपालिका–५ झुम्रामा टिपरले ठक्कर दिँदा मंसिर १७ गते ४ वर्षीया राधिकाकुमारी मण्डलको मृत्यु भयो । निर्माण सामग्री लोड गरेर तीव्र गतिमा कुदिरहेको ना ८ ख ७०५३ नम्बरको टिपरले साँघुरो सडकमा बालिकालाई ठक्कर दिएको हो।  

वृद्धा र बालिकाको मृत्यु टिपरको तीव्र गतिका कारण निम्तिएको दुर्घटनासँग जोडिएका छन् । सडकमा प्रतिस्पर्धात्मक रुपमा तीव्र गतिमा कुदाइने टिपरका कारण प्रदेश १ का तराईका जिल्लामा सडक दुर्घटना बढिरहेका छन्। ढुंगा, गिट्टी, बालुवा, माटो लगायतका निर्माण सामग्री ढुवानीमा प्रयोग गरिने टिपर लोड भएको अवस्थामा पनि सडकमा अतिनै तीव्र गतिमा कुदाइने गरिएको छ। 

‘लोड भएको अवस्थामा प्रति घण्टा बढीमा ३० मा कुदाइनु पर्ने टिपर प्रतिघण्टा ८० देखि माथिसम्म कुदाएको पाइयो,’ एक ट्राफिक प्रहरीले भने, ‘गति ‘राडार गन’ ले मापन गर्दा अत्यधिक पाइएको हो ।’ उनका अनुसार बनावटका हिसाबले पनि अरु सवारी जस्तो सजिलो नहुने भएकाले टिपर निश्चित गतिमा कुदाउन आवश्यक रहेको उनको भनाइ छ। 

विराटनगरका राजेन्द्र सापकोटा एम्बुलेन्स, दमकल जस्ता अति आवश्यकीय साधनलाई पनि बाटो नदिइकन कुदाइने टिपरका कारण सडक यात्रा असुरक्षित बनिरहेको गुनासो गर्छन्। ‘अरु सवारी साधनले त साइड पाउने कुरै छैन,’ उनले भने, ‘आफ्नै राज्य जस्तो गरेर टिपरले एम्बुलेन्स र दमकल लाई समेत बाटो छाड्दैनन् ।’ सामान्य अवस्थामा मात्रै कुदाउन मिल्ने गरी लोड गरिएको टिपर नियन्त्रण नै गुमाउने गरि लापरबाहीपूर्ण तरिकाले कुदाउने गरिएको सापकोटाको भनाइ छ। 

कोशी एम्बुलेन्स चालक संघका अध्यक्ष आनन्द विक ६ दिन अघि कोशी अस्पतालले रेफर गरेको सिकिस्त बिरामी लिएर धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लागे। ‘आकस्मिक साइरन’ बजिरहेको एम्बुलेन्सलाई टिपरले बाटो छोडेनन्। ‘गम्भीर बिरामीलाई जतिसक्दो चाँडो धरान पुर्‍याउनु पर्ने थियो,’ विकले भने, ‘तर अगाडि रहेका कुनै टिपरले बाटै दिएनन्।’ उल्टै पछाडिबाट तीव्र गतिमा आएका टिपरले एम्बुलेन्सलाई नै ‘ओभरटेक’ गरेको उनको भनाइ छ ।

‘बिरामी बोकेर ‘स्पिड’मा कुद्नु पर्ने हुन्छ,’ उनले भने, ‘त्यो भन्दा ‘स्पिड’मा पेलेर टिपर पछाडिबाट ओभरटेक गर्छन् ।’ विकले सामान्य अवस्थामा ५० मिनेटको ४३ किलोमिटरको दूरीमा टिपरले अवरोध गर्दा दुई घण्टा बढी लागेको बताए । 

‘एम्बुलेन्स ‘साइरन’ बजाउँदै आकस्मिक लाइट बालेर सिकिस्त बिरामी लिएर हिँडिरहेका हुन्छन्,’ उनले भने, ‘अगाडि रहेका टिपरले त बाटो छाड्दैनन् नै, उल्टै उनीहरुलाई नै बढी हतारो भए जस्तो पछाडिबाट आएर एम्बुलेन्सलाई पेलेरै ‘ओभरटेक’ गर्दै अघि बढ्छन् ।’ विकले टिपरकै कारण सडक डरमर्दो र असुरक्षित भइरहेको गुनासो गरे । भने, ‘टिपर आफ्नै राज्य जस्तो गरेर चल्दा सडक यात्रा असुरक्षित भइरहेको छ। टिपरकै कारण सडकमा बिरामीलाई समयमा अस्पताल पुर्‍याउन पनि गाह्रो हुन्छ।’ 

मोरङ उर्लाबारीका शिक्षक लेखनाथ खड्का जथाभावी कुदाएको हेर्दा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेर चालकलाई ट्राफिक नियम सिकाउन आवश्यक देखिएको बताउँछन् । ‘चालकमा अनुशासननै देखिँदैन,’ उनले भने, ‘जसले दुर्घटना अत्यधिक बढिरहेका छन् ।’ खड्काले निक्कै व्यस्त देखिने टिपरले सडकमा आतंक नै सृजना गरिरहेको भन्दै टिपरका सवालमा सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी रहेको बताए।

त्यसमाथि बारम्बार हुने दुर्घटनाले सबैलाई सडकको यात्रा असुरक्षित महसुस गराउन थालेको उनको भनाइ छ। तीव्र गतिमा चलाउने युवा नै टिपर व्यवसायीको रोजाइमा पर्छन् । कतिपय व्यवसायीले चालकलाई नियमित तलबका अतिरिक्त एक टिपमा एक हजार रुपैयाँसम्म दिने गरेको पाइएको । टिप अनुसार पाइने पैसाको लोभले हतारो हुने हुँदा तीव्र गतिमा टिपर कुदाइने गरिएको र त्यसले दुर्घटनाको जोखिम धेरै बढाएको ट्राफिक प्रहरीकै अध्ययनले देखाएको छ। 

मोरङको बेलबारी उद्योग बाणिज्य संघका महासचिव विवेक मिश्र टिपरमा चालकको लापरवाही धेरै रहेको बताउँछन्। ‘गति हेर्दा नसालु पदार्थ खाएर टिपर चलाउँछन् जस्तो देखिन्छ,’ उनले भने। मिश्रले सडकलाई आफ्नो मात्रै सम्झिएर टिपरले देखाउने रवैयाले सबै आजित भइसकेकाले यो प्रवृतिको अन्त्य हुुनु पर्ने बताए। व्यवसायी र सरोकारवाला निकाय टिपरको गति र त्यसबाट बढिरहेको दुर्घटना न्यूनीकरण गर्ने दिशामा अघि बढ्नुपर्ने मिश्रको सुझाव छ। 

८ सय माननीयका अंग्रेजी गुरु, जसले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई अंग्रेजी पढाए (भिडियो)

कलियुगमा शिवमायाको सती यात्रा

स्कुल र कार्यालय जाने तथा फर्कने समय भएकाले सडक व्यस्त रहने भन्दै ट्राफिक प्रहरीले बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म र दिउँसो ४ देखि ५ बजेसम्म दिनको दुई घण्टा राजमार्गमा टिपर चलाउन प्रतिबन्ध लगाएको छ। तीव्र गति र सडक दुर्घटना न्यूनीकरण मुख्य उद्धेश्य राखेर ट्राफिकले २०७५ चैत ११ गतेबाट प्रदेश १ का मोरङ, सुनसरी, झापा र उदयपुरमा सञ्चालित टिपरमा ‘टाइम कार्ड’ पनि लागू गरेको छ। यो नियमअनुसार ट्राफिक प्रहरीले तोकेको र चालकलाई वितरण गरिएको कार्डमा उल्लेख भएको समयमा टिपर गन्तब्यमा पुग्नु पर्ने हुन्छ। तर ट्राफिकलाई छल्दै अत्याधिक गतिमा दौडिन्छन् टिपर। 

पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्की टिपर तीव्र गतिमा कुद्ने कुरा पुरानै भएको दाबी गर्छन् । ‘तीव्र गतिमा कुदाइने टिपरका कारण दुर्घटना न्यून छ,’ उनले भने, ‘तीव्र गति रोक्नकै लागि ट्राफिकले लागू गरेको ‘टाइम कार्ड’ हामीले स्वीकार गरेका हौं ।’ सडकको लथालिंग अवस्था र यान्त्रिक गडबडीले हुने दुर्घटनालाई टिपर आतंक भनेर गलत व्याख्या गर्ने गरिएको कार्कीको दाबी छ। एक–दुई अपवाद बाहेक तीव्र गतिले दुर्घटना नभएको उनको जिकिर छ। 

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल ‘टाइम कार्ड’ प्रणालीलाई कडाईका साथ लागू गरेर टिपर चालकलाई अनुशिक्षण र प्रशिक्षण दिने काम पनि भइरहेको बताउँछन्। ‘तीव्र गतिमा कुद्ने र नियम उल्लंघन गर्नेलाई कारबाही पनि गरिएको छ। सडकमा निषेधनै गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘विभिन्न सडक र संरचना निर्माणको काम भइरहेका कारण यो बेला टिपरको चहलपहल अलि बढी नै छ। अनुभवी चालक हुँदा पनि दुर्घटनामा कमी आउँछ।’

दाहालले नेपालमा टिपर चल्ने सडक संरचना नै नभएको बताउँदै भने, ‘विदेशमा निर्माण सामग्री बोक्ने सवारीको छुट्टै लेन हुन्छ । नेपालमा भने एउटै लेनमा सबै सवारी साधन चल्नु पर्ने बाध्यता छ ।’ 

भैंंसीका पुच्छर बाँधेको त्यो दिन

कुनै बेला कूलतमा फसेका निरञ्जन अहिले नेपाली माैलिक बाजाकाे जगेर्ना गर्दै(भिडियाे)

बनावटका कारण आफ्नो सिटबाट अगाडि दुई मिटरसम्म केही आएमा चालकको नदेख्ने हुँदा टिपरबाट दुर्घटना हुने मुख्य कारण रहेको उनको भनाइ छ । एसपी दाहालले कुन सडकमा टिपर चलाउन उपयुक्त छ भन्ने अध्ययन गरेर मात्रै सञ्चालनको अनुमति दिँदा संरचनाकै हिसावले जोखिमपूर्ण हुने समस्या टर्ने बताए । ट्राफिकले विभिन्न कोणबाट प्रयास गरिरहेको बताउँदै उनले ‘ओभरस्पिड’ रोक्न ‘इलेक्ट्रोनिक ट्रयाकिङ सिस्टम’ आवश्यक हुने बताए । यसले टिपर कसरी कुदिरहेको छ भन्ने जानकारी लिन सजिलो हुने दाहालको भनाइ छ । 

प्रदेश १ मा चालु आर्थिक वर्षको हालसम्म टिपरका कारण १४ वटा दुर्घटना भएका छन् । टिपर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । प्रदेश १ मा चार हजार आठ सय बढी टिपर सञ्चालनमा छन् । 
 

प्रकाशित मिति: : 2020-01-25 04:05:55

प्रतिकृया दिनुहोस्