प्रधानमन्त्रीले एमसीसीलाई अघि बढाउन चाहनुभएको छ, संसदबाटै पारित हुन्छः पौडेल

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले एमसीसी संसदबाट पारित हुने दाबी गरेका छन्। 

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले  भने,‘एक शब्दमा भन्नुपर्दा एमसिसी सदनबाट पास हुन्छ। प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ। प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ। त्यसैले पार्लियामेन्टरी सिष्टममा ह्विप लागुहुन्छ।’ यद्यपि उनले एमसिसीको कतिपय प्रावधानमा भने आफ्ना रिर्जवेशन रहेको बताए। 

उनले उक्त सम्झौतामा निकै शर्तहरु राखिएको भन्दै असन्तुष्टि पोखे। उनले भने,‘ती शर्तहरु जरुरी छैनन्। अनुदान भनेको त निशर्त दिने कुरा हो। नेपालमा ठूलो भूकम्प आयो, किन ग्रान्ट दिएन्?’

पौडेलले एमसिसी लागु भएको देशमा गरिबी निवारण नभएको पनि जिकिर गरे। उनले भने,‘नेपालमा पनि भयानक प्रगति हुँदैन। हामी अमेरिकाको ५५ अर्ब नगुमोस् भन्ने पक्षमा छौं। नेपालको विकास र समृद्धिमा यसले सहयोग नै पुर्याउँछ। तर, यसमा उल्लेख गरिएका शर्तहरु जायज छैनन्। यसको बारेमा निकै बहस गर्न जरुरी छ।’ उनले निशर्त अनुदान भैदिएको भए यति धेरै डिबेट नै हुँदैनथियो भन्ने उनको तर्क छ। 

एमसिसीको बारेमा अहिले राष्ट्रिय रुपमै चर्चा तथा परिचर्चा भएको सुनाउँदै उनले नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने सुझाव दिए। 
 

प्रकाशित मिति: : 2020-01-22 06:06:56

प्रतिकृया दिनुहोस्