भारतीय विदेश मन्त्री एस जयशंकरले मकवानपुरको दामनको रिसोर्टमा आफ्ना ८ नागरिकको मृत्यु भएको घटनाबारे दुःख व्यक्त गरेका छन्।
मंगलबार ट्वीट गर्दै जयशंकरले घटनाबारे दुःख व्यक्त गरेका हुन्। उनले भनेका छन्– 'नेपालमा ८ भारतीय पर्यटको मृत्यु भएको समाचारले मर्माहत भएको छु। काठमाडौंस्थित हाम्रो दूतावासले घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ। दूतावासका अधिकारीहरू अस्पतालमा खटिएका छन् र आवश्यक सहयोग गरिरहेका छन्।'
भारतीय दूतावासले घटनामा निधन भएकालाई श्रद्धाञ्जली अर्पण गरेको छ। घटनाबाट प्रभावित भएका परिवारसँग दूतावास सम्पर्कमा रहेको दूतावासले ट्वीटमार्फत जनाएको छ।
नेपालले भने दूतावासमार्फत् मृतकको शव आफन्तलाई बुझाउने तयारी गरेको छ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी कागजात बनाएर दूतावासमार्फत शव आफन्तको जिम्मा लगाउने भएको हो। मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभि, ७ वर्षीया अर्चना, ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्रा छन्।
मृतक आठै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालका अनुसार शवको पोस्टमार्टम सकिएको छैन। पोस्टमार्टम सकिएपछि कानुनी रूपमा शव बुझाउने कागजात मिलाइने उनले बताए। ‘दूतावासमार्फत शव आफन्तलाई बुझाउन कागजात बनाइन्छ,’ उनले भने।
सोमबार थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए। उनीहरूलाई हेलिकप्टरमा काठमाडौं ल्याइएकोमा मृत्यु भएको थियो।