मोरङको मिक्लाजुङ गाउँपालिका – १ स्थित रमितेमा आइतबारराति बम बिष्फोट भएको छ।
निर्माणाधीन उर्लाबारी किशान चोक – रमिते सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा बम विष्फोट गराइएको मिक्लाजुङ – १ का वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए। उनका अनुसार राति ९ बजेको समयमा बम बिष्फोटको ठूलो आवाज सुनिएको र हेर्दै जाँदा स्काभेटर जलेको अवस्थामा भेटिएको थियो। सो ठाउँमा बम पनि फेला परेको छ।
राति बिष्फोट भएको र सोमबार बिहान बम भेटिएपछि स्थानीयबासी त्रसित भएको स्थानीय शिक्षक पर्वत राईले जानकारी दिए। यस विषयमा प्रहरीले अहिलेसम्म कुनै जानकारी गराएको छैन। विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन।
यद्यपी नेत्रबिक्रम चन्द विप्लव नेत्रृत्वको नेकपाले विष्फोट गराएकोे आशंका गरिएको छ। सो स्थानमा विप्लव समूहको गतिविधि हुने गरेको स्थानीयबासीले बताएका छन्। उत्तरी मोरङ तत्कालिन सशस्त्र युद्धमा माओवादीको शैन्य तालिम हुने क्षेत्रका रुपमा समेत चिनिन्छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर सुवास राई नेत्रृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। विष्फोटबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन।