शिक्षा प्रणालीको विकास गर्न सके मुलुक सुखी हुन्छ : शिक्षामन्त्री पोखरेल 

'अभिभावकलाई पनि शिक्षित बनाउनुपर्छ', उनले भने

फाइल तस्बिर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा प्रणालीको विकास गर्न सके मात्र मुलुक सुखी र समृद्ध हुने बताएका छन्। 

शनिबार राजधानीमा गौशाला नगरपालिकाले आयोजना गरेको ‘सामुदायिक विद्यालय सुधार’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताए। 

वर्तमान परिवेशमा प्रमाणपत्रमा सीमित रहँदै आएको सामुदायिक विद्यालयको शिक्षालाई विकाससँग गस्नुपर्ने उनको भनाई छ। 

'अभिभावकलाई पनि शिक्षित बनाउनुपर्छ', उनले भने, 'विश्वस्तरको बजारमा बिकाउ हुने किसिमको वैज्ञानिक एवम् प्राविधिक शिक्षा दिनुपर्छ।' 

भिन्नै प्रसङ्गमा उनले शिक्षकले देशको विभिन्न कालखण्डमा परिवर्तनको पथमा अहम् भूमिका निर्वाह गर्दै आएकाले शिक्षकलाई राजनीतिभन्दा टाढा राख्न नहुने तर्क गरे।

विद्यालयको शिक्षामा सुधार भएमात्र देशमा समृद्धि हासिल हुने जिल्ला शिक्षा तथा समन्वय इकाइ समितिका प्रमुख शत्रुध्नप्रसाद यादवले बताए।

प्रकाशित मिति: : 2020-01-19 06:17:00

प्रतिकृया दिनुहोस्