अन्नपूर्ण बेसक्याम्पमा हिमपहिरो: दुई नेपाली सम्पर्कविहीन, एक कोरियन पर्यटकको उद्धार

फाइल तस्बिर

अन्नपूर्ण आधार शिविर (बेसक्याम्प) पदमार्गमा हिमपहिरो गएपछि दुई नेपाली सम्पर्कविहीन भएका छन्।

अन्नपूर्ण ११ का वडाध्यक्ष भीम गुरुङ अनुसार पदयात्रामा गएका चिनियाँ पर्यटकका गाइड र कोरियन पर्यटकका पोर्टर सम्पर्कविहीन भएका हुन्। उनका अनुसार हिमपहिरोमा फँसेका एक जना कोरियन पर्यटकको उद्धार गरेर सुरक्षित स्थानमा ल्याइएको छ।

९ जनाको समूहमा रहेका कोरियन एकअर्कासँग छुट्टिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका संरक्षण कार्यालय घान्द्रुकका प्रमुख विदुर कुँइकेलले जानकारी दिए। उनका अनुसार बेसक्याम्प पदमार्गको देउराली र हिमालयबीच रहेको हिमपहिरोले बनाएको खोल्सामा उनीहरू हराएका छन्। 

बिहीबारदेखि परेको हिमपातका कारण सो पदमार्गमा अहिले हिमपातका कारण पदमार्गमा रहेका लघुजलविद्युत आयोजना बन्द भएको र विजुली नहुँदा फोन र इन्टरनेटको टावर डाउन भएको छ। साेही कारणले सम्पर्कका कुनै माध्यम चल्न नसकेकाे  प्रमुख कुँइकेलले बताए। 

प्रकाशित मिति: : 2020-01-18 09:59:54

प्रतिकृया दिनुहोस्