हिँउको बर्को भित्र डोल्पा, जनजीवन कष्टकर

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा दोस्रो पटक भारी हिमपात भएको छ। बुधबार बेलुकादेखि परेको भारी वर्षाका कारण बिहीबार राति डोल्पामा भारी हिमपात भएको हो। डोल्पाको सदरमुकाम दुनैमासमेत बाग्लो हिउँ जमेको छ। यो सँगै सिंगो डोल्पा हिउँको बर्कोमा सिंगारिएको छ।

डोल्पामा यो वर्षको पहिलो पटक मंसिरको अन्तिम सातामा हल्का हिमपात भएको थियो। मंसिरमा परेको हिउँ खासै नजमेकाले डोल्पामा पुसको महिनामा पनि उच्च हिमाली बस्तीहरु समेत हिउँ नाङ्गा र सुख्खा भएर उजाड देखिएका थिए। माघ महिनामा परेको हिउँलाई डोल्पालीहरु शुभ वर्षको रुपमा लिने गर्छन्।

यो महिनामा परेको हिउँले हिउँदमा लगाएको जेठासे बाली गहुँ, जहुँ, उवा र तरकारीबालीमा आलु र लसुनको उत्पादनमा बृद्धि हुने भएकोले डोल्पाली कृषकहरुको लागि हिउँ शुभ हुने गरेको हो।

यसै गरि उत्तरी तिब्बत नाकासँग जोडिएका उपल्लो डोल्पाका डोल्पोबुद्व, छार्काताङसोङ, शे-फोक्सुण्डो र काइके गाउँपालिकाका बस्तीहरुमा  ३ देखि ५ फुट सम्म हिउँ जमेको छ।

भारि हिमपात भएपछि उपल्लो डोल्पाको जनजीवन कस्टकर बनेको छ। बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण मध्य डोल्पाका ठूलीभेरी नगरपालिकाको माझफाल, जुफाल, दुनैका तिप्ला, थाला रहलगायत त्रिपुरासुन्दरी नगरपालिकाको सुउँ, रंग, पहाडा, लिकु चुँउ, दापु त्रिपुराकोट तल्लो डोल्पाका जगदुला र मुडकेचुला गाउँपालिकाका बस्तीहरु समेत सेताम्य बनेका छन्।

हिमपातले डोल्पाका बस्ती र डाँडाकाँडा हिँउले सेताम्य भएका छन्। डोल्पाका गाउँबस्ती र हिमशिखरहरू समेत माघमा परेको भारी हिमपातले बर्को भित्र लुकेको बेहुली झै  सिँगो डोल्पा हिउँको बर्कोमा लुकेको छ।

मावनबस्ती र डाडाँकाडाहरु हिँउले भरिभराउ भएपछि डोल्पा हिँउको सेतो घुम्टोमा बेहुलीझै सिँगारिएको हो।

खेतबारीमा लगाइएका गहुँ, जौँ, उवा लगाएतका बालीनालिका साथै आलु र लसुन माघमा परेको हिमपातले उत्पादनमा वृद्धि गर्ने हिमपातले उम्रिन बाँकी अन्नबालीहरु उम्रिने र उम्रिसकेको अन्नबालीहरु बढ्ने त्रिपराकोटका कालुप्रसाद हमालले बताए।

हिमपातले छिमेकी जिल्लाको सीमा नाका बन्द

डोल्पा र जुम्लाको सीमा नाका पर्ने जगदुला गाउँपालिकाको मौरे भरभरे र मुडकेचुलाको भालु लेकमा भारि हिउँ जमेपछि दुई जिल्ला बीचको आवतजावत बन्द भएको छ।

आवतजावत बन्द भएपछि जुम्ला र डोल्पाको पैदल मार्गबाट आदानप्रदान गरिने हुलाक डाँक सेवा समेत बन्द भएको जिल्ला हुलाक कार्यालय डोल्पाका प्रमुख जयशंकर धितालले बताए।

भारी हिमपातले सरकारी कामकाज प्रभावित   

सदरमुकाम दुनैमा नै हिउँ जम्न थालेपछि अत्याधिक जाडोले सरकारी कार्यालयमा गरिने कामकाज समेत प्रभावित भएको छ। भारि हिमपातले कर्मचारीहरु कार्यालयमै जान सक्ने अवस्था नभएपछि कामकाज प्रभावित भएको हो।

हिमपात पछि अत्याधिक जाडो भएको र कार्यालयमा बसेर काम गर्ने अवस्था पनि नभएको र बिभिन्न स्थानबाट आउनु पर्ने कर्मचारी हिमपातले बाटो अवरुद्द भएपछि आउन नसकेकाले कामकाज प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए।  

हिमपातनै आम्दानीको आधार

हिमाली जिल्ला डोल्पामा बिहिबार दोस्रो पटक भारी हिमपात भयो। यस पटकको हिमपातले डोल्पालीले आफ्नो आर्थिकोपार्जनमा सहयोग पुग्ने बताएका छन्।

माघको पहिलो हप्तामा परेको हिमपातलाई डोल्पालीले शुभ वर्षको रुपमा लिने  गर्छन। सदरमुकाम दुनै,जुफाल लगाएतका ठाँउमा बाग्लो हिँउ जमेपछि डोल्पाली हर्सित भएका छन्।

यस वर्ष अन्नबाली उत्पादन समेत राम्रो हुने सुस्मिता श्रेष्ठको भनाई छ। जिल्लाका उच्च हिमाली क्षेत्रमा पर्ने यार्सागुम्बा पाटनहरुमा बाग्लो हिँउ जमेपछि आगामी वर्ष बहुमुल्य जडिबुटी यार्सागुम्बा लगायतका बहुमुल्य जडिबुटीको उत्पादन राम्रो हुने डोल्पालीको आशा छ।

प्रत्येक वर्ष पुस र माघ महिनामा पर्ने हिमपातले यार्सागुम्बाको गुणस्तर, परिमाणमा निर्भर गर्ने काइके गाँउपालिका स्थानीय ठूलीभेरी नगरपालिका ६ का योगेन्द्र बुढा बताउँछन्।

नेपालमै गुणस्तरिय र धेरै मात्रामा बहुमुल्य जडिबुटी यार्सागुम्बा पाइने जिल्लाको रुपमा समेत डोल्पा परिचित छ। यार्सागुम्बा डोल्पाली जनताकालागि आर्थिक उपार्जनको मुख्य स्रोतको रुपमा रहँदै आएको छ।

डोल्पाका यार्सागुम्बा पाइने क्षेत्र त्रिपुरासुन्दरी नगरपालिका बन क्षेत्रमा पर्ने भाँङका, भोक्पा, वाटुली पाटन, जगदुला गाउँपालिकाको टाँगटुगे पाटन, ठूलीभेरी नगरपालिकामा पर्ने माझफालको पोकेपानी लगायतका यार्सागुम्बा पाटन ३ देखि ४ फिटसम्म हिँउ जमेको छ।

डोल्पामा मात्रै पाँचसय पाटनहरुमा यार्सागुम्बा पाइने गर्दछ। माघ महिनामा परेको हिउँ बैशाखको अन्तिम साता तीर पग्लने र जेठको दोस्रो साताबाट यार्सागुम्बा टिप्ने कार्य शुरु हुने र हिउँ परेको वर्षमा यार्सागुम्बाको उत्पादन पनि बढी नै हुने गरेको त्रिपुराकोटका स्थानीय कालुप्रसाद हमालले बताए।

हिमपातले अत्याधिक जाडो र कस्टकर बनाउने गरे पनि आगामी जेठमा यार्सागुम्बाबाट वर्षभरीको खर्च कमाउन पाइने भएकाले हिमपातलाई शुभ मौसमको रुपमा आफूहरुले लिने गरेको हमालको भनाई छ।

यार्सागुम्बा मात्र नभएर पाँच औले भुल्ते सेतोचिनी लगायतका जडिबुटीको उत्पादन र लागाएको बर्खे अन्नबाली जौ, गहुँ, आलु, उवालगायतको उत्पादन बृद्धिमा हिमपातले सहयोग गर्ने कृषि ज्ञानकेन्द्र डोल्पाका प्रमुख भिम बहादुर धरालाले बताए।

जुफाल बिमानस्थल बन्द

हिमपातले डोल्पाको हवाई यातायातको एक मात्र साधनको रुपमा रहेको जुफाल बिमानस्थल बन्द भएको छ।

जुफालको बिमानस्थलमा बाग्लो हिउँ जमेपछि बिहिबार नेपालगन्ज र सुर्खेतबाट हुने कुनै पनि हवाई उडान भएनन। हिमपातले गर्दा दुई दिनदेखि डोल्पा विमानस्थल ठप्प छ। राम्रोसँग घाम लागेर हिउँ नपग्ले सम्म उडान हुने सम्भावना नभएको नेपाल नागरिक उड्डयन कार्यालय जुफाले जनाएको छ।

विमानस्थल बन्द भएपछि यात्रुहरु अलपत्र भएका छन्। तारा एयरलाइन्स नेपालगन्जका सूर्यमणि सुवेदीले विमानस्थलमा हिउँ जमेकाले बुधवार देखिकै चार ओटा यात्रु उडान हुननसकेको बताए।

बिहीवार रातिदेखि परेको भारी हिमपातले सिंगारिएको डोल्पा सदरमुकाम दुनै बजार। तस्बिरः बिएल नेपाली सेवा

प्रकाशित मिति: : 2020-01-18 09:24:15

प्रतिकृया दिनुहोस्