विश्वकै होचा व्यक्ति खगेन्द्र थापा मगरको निधन

विश्वकै होचा व्यक्तिको विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरको शुक्रबार दिउँसो ३ बजे निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका सदस्य दीननाथ बरालले जानकारी दिए। थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् । 

बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए। ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च  रहेका थापालाई विश्व रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो व्यक्तिको  मेडल दिएका थियो ।  

धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र पोखराको सृजनाचोकमा बस्दै आएका थिए। रूप बहादुर थापा मगर र धनमाया थापा मगरका पुत्रका रुपमा खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९  मा जन्म भएको थियो । जन्म भएको बेला खगेन्द्र तौल ६ सय ग्राम मात्र थियो । उनको अहिलेको तौल ५.५ किलोग्राम मात्र रहेको थियो।

प्रकाशित मिति: : 2020-01-18 07:18:52

प्रतिकृया दिनुहोस्