सिद्धबाबा विरुद्धको मुद्दाको सुनुवाई स्थगित

सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी विरुद्धको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाई उच्च अदालत विराटनगरमा बिहीबारका लागि तय भए पनि स्थगित भएको छ। 

कायम मुकायम मुख्य न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा सुनुवाईका लागि मुद्दाको पेसी तोकिएको थियो। पीडित पक्षकै निवेदनका आधारमा मुद्दाको सुनुवाई आगामी बिहीबारलाई सरेको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बताए। मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ। 

सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक पहिलो साता बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दा चलाएको थियो। जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई गत पुस १४ गते तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो। यही मुद्दा उच्चमा पुगेको छ।

जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो। यता बलात्कारका अभियुक्त सिद्धबाबाले पनि पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका छन्। 

एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले एकै पटक सुनुवाईका लागि मुद्दा लगाउमा राख्न आदेश दिएको थियो। न्यायाधीश श्रेष्ठ भने मंगलबारदेखि विदामा छन्। 

यता सिद्धबाबालाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गरिनु पर्ने माग गर्दै उच्च अदालत विराटनगर अगाडि बिहीबार मौन प्रदर्शन गरेर धर्ना दिइएको छ। अदालतबाट थुनामा राख्ने आदेश हुनु पर्ने माग गर्दै पीडितका तर्फबाट धर्ना दिइएको हो। धर्नामा सहभागीले हात–हातमा पीडितका पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए। धर्नामा महिला, गैरसरकारी संस्थाकर्मी तथा मानवअधिकारकर्मीहरु सहभागी बने। 

प्रकाशित मिति: : 2020-01-16 23:17:17

प्रतिकृया दिनुहोस्