सिद्धबाबालाई थुनामा राख्ने आदेश माग्दै धर्ना

जवरजस्ती करणीको मुद्दा चलाइएका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थुनामा राख्ने आदेश हुनु पर्ने माग गर्दै उच्च अदालत विराटनगर अगाडि बिहीबार धर्ना दिइएको छ। पीडितका पक्षबाट दिइएको धर्नामा अधिकारकर्मी, अगुवा महिला एवं एनजिओकर्मी सहभागी थिए। उनीहरुले बलात्कार आरोपी सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गरिनु पर्ने माग अघि सारेका छन्। 

एक महिला अनुयायीले सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक पहिलो साता बलात्कार गरेको किटानी जाहेरी सिद्धबाबाविरुद्ध दिएपछि सुनसरी प्रहरीले उनलाई पक्राउ गरेर जवरजस्ती करणी मुद्दामा मंसिर १६ गतेबाट अनुसन्धान थालेको थियो। उनलाई जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। 

उच्च अदालत विराटनगरमा पुगेको यही मुद्दाको सुनुवाईका लागि पेसी बिहीबारलाई तोकिएको थियो। मुद्दालाई भने एकै पटक सुनवाई गर्नका लागि अदालतले यस अघि नै लगाउमा राखिसकेको छ।  
जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो। 

यता बलात्कारका अभियुक्त सिद्धबाबाले पनि पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पुर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका छन्। एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले एकै पटक सुनुवाईका लागि मुद्दा लगाउमा राख्न आदेश दिएका थिए। 

अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बिहीबार यो मुद्दाको सुनुवाई हुने या नहुने भन्ने यकिन भने भइनसकेको बताए। सुनुवाई हुने या नहुने टुँगो लाग्न नसकेकै बेला पीडित महिलाका पक्षमा अदालत अगाडि धर्ना दिने काम भएको हो। उच्चबाट मुद्दाको सुनवाई भएपछि सुनसरी अदालतको आदेश नै रितपूर्वक भएको मान्ने कि बेरितको भन्दै अर्को अन्तिम आदेश गर्ने टुँगो लाग्ने छ। 
 

प्रकाशित मिति: : 2020-01-16 19:18:20

प्रतिकृया दिनुहोस्