टिपरका कारण १४ वटा दुर्घटनाः पाँच जनाको मृत्यु, १५ जना घाइते

फाइल तस्बिर

चालु आर्थिक वर्षको हालसम्म प्रदेश १ मा टिपरका कारण १४ वटा सडक दुर्घटना भएका छन्। टिपर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। 

लोड भएका बेला तीव्र गतिमा कुदाइँदा, अनुभव नभएका चालक, साँघुरो सडक लगायतका कारणले टिपर दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ। सडकमा प्रतिस्पर्धात्मक रुपमा तीव्र गतिमा कुदाइने टिपरका कारण प्रदेश १ का तराईका जिल्लामा सडक दुर्घटना बढि हुने गरेका छन्। ढुंगा, गिट्टी, बालुवा, माटो लगायतका निर्माण सामग्री ढुवानीमा प्रयोग गरिने टिपर लोड भएको अवस्थामा पनि सडकमा अतिनै तीव्र गतिमा कुदाइने गरिएको छ। 

बनावटका हिसाबले अरु सवारी जस्तो सजिलो नहुने टिपर निश्चित गतिमा कुदाउन आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ। मोरङको बेलबारी उद्योग बाणिज्य संघका महासचिव विवेक मिश्र टिपरमा चालकको लापरवाही धेरै रहेको बताए। व्यवसायी र सरोकारवाला निकाय टिपरको गति र त्यसबाट बढिरहेको दुर्घटना न्यूनीकरण गर्ने दिशामा अघि बढ्नुपर्ने मिश्रको सुझाव छ। 

तीव्र गति र सडक दुर्घटना न्यूनीकरण मुख्य उदेश्य राखेर ट्राफिकले २०७५ चैत ११ गतेबाट प्रदेश १ का मोरङ, सुनसरी, झापा र उदयपुरमा सञ्चालित टिपरमा ‘टाइम कार्ड’ पनि लागू गरेको छ। यो नियमअनुसार ट्राफिक प्रहरीले तोकेको र चालकलाई वितरण गरिएको कार्डमा उल्लेख भएको समयमा टिपर गन्तब्यमा पुग्नु पर्ने हुन्छ। तर ट्राफिकलाई छल्दै टिपर अत्याधिक गतिमा चलाइन्छ। 

पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्की सडकको लथालिंग अवस्था र यान्त्रिक गडबडीले हुने दुर्घटनालाई टिपर आतंक भनेर गलत व्याख्या हुने गरेको बताए। ‘धेरै छिटो कुदाइन्छ भनेर दोष मात्रै थोपर्ने काम हुन्छ,’ उनले भने, ‘तर सडक लगायतका संरचना नहेरिकन टिपरलाई मात्रै एकतर्फी दोष थोपर्न ठीक हुँदैन।’

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले दुर्घटन न्यूनीकरणका लागि ‘टाइम कार्ड’ प्रणालीलाई कडाईका साथ लागू गरेर टिपर चालकलाई अनुशिक्षण र प्रशिक्षण दिने काम पनि भइरहेको बताए। तीव्र गतिमा कुद्ने र नियम उल्लंघन गर्नेलाई धमाधम कारबाही पनि गर्ने काम भइरहेको उनको भनाइ छ। 

विभिन्न सडक र संरचना निर्माणको काम भइरहेका कारण यो बेला पूर्वी तराईका जिल्लामा टिपरको चहलपहल अलि बढी नै छ। एसपी दाहालले कुन सडकमा टिपर चलाउन उपयुक्त छ भन्ने अध्ययन गरेर मात्रै सञ्चालनको अनुमति दिँदा संरचनाकै हिसावले जोखिमपूर्ण हुने समस्या टर्ने बताए।

टिपर आंतक र यसबाट हुने दुर्घटना रोक्न ट्राफिकले विभिन्न कोणबाट प्रयास गरिरहेको बताउँदै उनले ‘ओभरस्पिड’ रोक्न ‘इलेक्ट्रोनिक ट्रयाकिङ सिस्टम’ आवश्यक हुने जानकारी दिए। यसले टिपर कसरी कुदिरहेको छ भन्ने जानकारी लिन सजिलो हुने दाहालको भनाइ छ। प्रदेश १ मा चार हजार आठ सय बढी टिपर सञ्चालनमा छन्। 
 

प्रकाशित मिति: : 2020-01-16 17:18:15

प्रतिकृया दिनुहोस्