अनेरास्ववियूका ३३५ केन्द्रीय सदस्यले लिए सपथ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को केन्द्रीय कमिटिका सदस्यले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन्।

तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन्।

अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ। अनेरास्ववियू नेतृ सुनिता बरालका अनुसार ४५ सदस्यीय स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना छन्।

यसअघि अनेरास्ववियू १८ पुसमा एकीकृत केन्द्रीय समितिको नाम टुंगो लगाएको थियो।

जसमा एमाले समर्थित विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट १५५ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति विस्तार गरेको थियो।

केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय छन्।

संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन हुनेछ।

तत्कालीन नेकपा एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटी हालसम्म टुंगो लाग्न सकेको थिएन।  ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक तोकिएका थिए। शुक्रबार केन्द्रीय समिति विस्तार भएसँगै नेकपाको शक्तिशाली भातृ संगठन मानिने अनेरास्ववियूले पूर्णता पाएको हो।

प्रकाशित मिति: : 2020-01-13 05:48:32

प्रतिकृया दिनुहोस्