प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा!

केन्द्रीय सरकार रहेको प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने पक्षमा दुई तिहाइ मत परेको छ। प्रदेशको नाम र राजधानी बारे निर्णय गर्न आइतबार बसेको प्रदेश तीनको प्रदेशसभा बैठकमा दुई तीहाई मत परेको हो।

आज बसेको बैठकमा भएको मतदानमा प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाइयोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावको पक्षमा १०५ मत र हुन्न भन्ने पक्षमा तीन मत परेको छ।प्रदेशसभामा एक सय १० सांसद भए पनि बैठकमा एक सय आठ सांसद मात्रै उपस्थित थिए।

‘तत्काल कायम रहेको संख्याको दुई तिहाइ रहेकोले दुई तिहाइ बहुमतले पारित भएको प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने निर्णय घोषणा गर्दछु’ सभामुख सानुकुमार श्रेष्ठले बैठकमा निर्णय सुनाउँदै भने ।

यसअघि काभ्रेको धुलिखेल प्रदेश राजधानी बनाइयोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो। साझा र विवेकशील दलका सांसदले काभ्रेको धुलिखेल प्रदेशको राजधानी बनाउन प्रस्ताव पेश गरेका थिए । तर उक्त प्रस्तावको पक्षमा तीन मत मात्र परेको हो।

प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने निर्णय यसअघि सत्तारुढ दल नेकपाको सचिवायल बैठकले निर्णय गरेको थियो।

नेकपाको प्रदेश तीन संसदीय दलले समेत सोही निर्णय गरेको थियो। नेकपाका नेताहरुमै रहेको असन्तुष्टिका माझ प्रदेश नम्बर ३ को केन्द्र हेटौंडा बनाउने निर्णय भएको हो।

प्रकाशित मिति: : 2020-01-13 00:31:41

प्रतिकृया दिनुहोस्