चालकलाई अनुशासित र मर्यादित बनाउनुपर्छ : नेता नेपाल

उनले हचुवाका भरमा बग्रेल्ती संस्था खुल्ने परिपाटीलाई बदल्न नियमनकारी निकायको विशेष ध्यान जान जरुरी भएको बताए।

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकभित्र सार्वजनिक यातायात मात्र नभई विद्यालय, हवाई कम्पनी तथा बैंक वित्तीय संस्थालगायत जुनसुकै निकाय खोल्नका लागि कुनै सीमितता नरहेको बताएका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालको प्रथम राष्ट्रिय साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले हचुवाका भरमा बग्रेल्ती संस्था खुल्ने परिपाटीलाई बदल्न नियमनकारी निकायको विशेष ध्यान जान जरुरी भएको बताए।

'देशमा उदारभावको नाउँमा बग्रेल्ती अनुमति दिइन्छ, कति सङ्ख्या हो, कुनै सीमितता छैन,' उनले भने,अर्कोतर्फ खुलेका संस्थाको अनुगमन प्रणाली प्रभावकारी छैन, जसले गर्दा सेवा गुणस्तरतामा ह्रास आउँछ, त्यसैले राम्रोसँग अध्ययन गरेर मात्र यातायात सेवा सञ्चालनको अनुमति दिनुपर्छ।'

मुलुकभित्र राज्यले बृहत्तर ढङ्गले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अघि बढाउने परिपाटीको विकास नहुँदा लगानीअनुरुपको प्रतिफल आउन नसकेको नेता नेपालको भनाई छ।

चालकको लापर्बाहीका कारण मुलुकमा सवारी दुर्घटना बढ्नुका साथै ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले चालकलाई उत्तरदायी बनाउन आवश्यक रहेको बताउदै भने,'चालकलाई अनुशासित र मर्यादित बनाउनेतर्फ सरोकार भएका निकायले ध्यान दिनुपर्छ।'

यातायात क्षेत्रको एकाधिकारको अन्त्य गर्दै यस क्षेत्रमा रहेका  बेथिति र विकृति नियन्त्रणका लागि नियमनकारी निकाय सक्रिय हुन जरुरी रहेको नेता नेपालले बताएका छन्।

 

प्रकाशित मिति: : 2020-01-12 04:43:02

प्रतिकृया दिनुहोस्