विदेशबाट पार्सल पठाएको भन्दै ठगी गर्ने दुई विदेशीसहित ५ पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभन देखाइ ठगी गरेको अभियोगमा दुई विदेशीसहित ५ जनालाई पक्राउ गरेको छ।  

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले फेसबुक, हवाट्सएप, भाइबर, इमोजस्ता सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको अभियोगमा एकजना नाइजेरिया नागरिक, एकजना आइभरीकोस्ट नागरिक र तीनजना नेपाली नागरिकलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा मुख्य अभियुक्त नाइजेरिया नागरिक सिरिल चिनोन्सो इबे, आइभरीकोष्ट नागरिक आसापे अड्जी पिरेजान, नेपाली नागरिक चितवनका रामचन्द्र गैरे, ठमेलका उमेश श्रेष्ठ, र चितवनकै हरि ओझा रहेका छन्। 

विदेशी नागरिकहरुको नाममा फेसबुक खोलेर नेपालका विभिन्न व्यक्तिहरुलाई साथी बनाएर बहुमूल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाइदिन्छु भन्दै इमेलमा फोटो पठाएर झुठो प्रलोभनमा पार्ने गरेको सीआईबीका प्रमुख निरज शाहीले बताए।

उनीहरूले सामाजिक सञ्जालका अतिरिक्त नेपाली मोबाइल नम्बरबाट फोन गरी तपाईंको नाममा पार्सल पठाएको र लिन शुल्क तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिबाट २० लाखभन्दा माथि ठगी गरेका पाइएको प्रमुख शाहीले जानकारी दिए।

उनीहरूले नेपालका विभिन्न बैङ्कको खाता नम्बर दिइ रकम जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी सो सम्वन्धमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-01-11 01:02:29

प्रतिकृया दिनुहोस्