लोकतान्त्रिक प्रणाली नै नेकपाका शिर्ष नेताको निरंकुशतावादमा पर्‍यो: जितेन्द्र देव

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले संवैधानिक व्यवस्था र समग्र लोकतान्त्रिक प्रणाली नै नेकपाका शिर्ष नेताको निरंकुशतावादमा पर्दै गएको आरोप लगाएका छन्। 

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा विशेष समयमा बोल्दै उनले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनैतिक र संवैधानिक प्रश्न उठ्नुका साथै विधायिकाको मानहानी भएको भन्दै तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन माग गरे। 

उनले भने ‘यो मुलुकमा सभामुखको निर्वाचन या प्रदेशको नामाकरणजस्ता विषय एउटा–दुईटा शिर्ष नेताहरुका कारण बन्दी हुने? यो निकै गम्भीर राजनैतिक र संवैधानिक प्रश्न तेर्सिएको छ।’

उनले संविधान, संंघीय संसद र प्रदेशसभा नियमावलीले देशमा प्रधानमन्त्रीको निर्वाचन, मन्त्रिपरिषद् गठन, प्रदेशसभाको राजधानी र प्रदेशको नामाकरण कसरी हुने भन्ने स्पष्ट रुपमा परिभाषित गरेको भन्दै संविधान र लोकतान्त्रिक प्रणालीलाई आत्मसाथ गर्न सरकारलाई सचेत गराए।

उनले भने ‘कम्युनिष्ट पार्टीभित्र केन्द्रीय समितिको नाममा पोलिटव्युरोले, पोलिटब्युरोको नाममा स्ट्याण्डिङ कमिटीले, स्ट्याण्डिङ कमिटीको नाममा सचिवालयले र सचिवालयको नाममा एउटा वा दुईवटा महासचिव या अध्यक्षले निर्णय गर्ने गर्दछन् र आम पार्टी कार्यकर्ता आँशु बगाएर बस्नुपर्ने स्थिति हुन्छ।’

प्रदेश ३ लाई नियमावली अनुसार प्रदेशको नामाकरण र राजधानी कहाँ हुने भन्ने कुरा निर्णय गर्ने अधिकार दिनुपर्ने उनले बताए। उनले विधि र प्रक्रिया अनुसार अघि बढ्न सरकार र सत्तारुढ पार्टी नेकपाको ध्यानाकर्षण गराए।
 

प्रकाशित मिति: : 2020-01-10 04:18:53

प्रतिकृया दिनुहोस्