भारतद्धारा मीरगञ्ज पुल एकतर्फी रुपमा बन्द, विराटनगर भन्सार नाकाबाट आयात–निर्यात ठप्प

भारतले बथनाहस्थित मीरगञ्ज पुल मर्मतका लागि भन्दै त्यहाँबाट मालबहाक ढुवानी साधन आवतजावत बिहीबार बिहानैबाट एकतर्फी रुपमा पुनः दोस्रो पटक बन्द गराएको छ।

आवागमन बन्द गरिएपछि विराटनगर भन्सार नाकाबाट हुने आयात–निर्यात पूर्ण रुपमा ठप्प भएको छ। यो पुल हुँदै भारत तथा तेस्रो मुलुकबाट नेपालतर्फ औद्योगिक कच्चा पदार्थ लगायत विभिन्न वस्तुहरु आयात हुन्छ।

भारतले यस अघि नै पुल ११ दिनका लागि बन्द गरिने घोषणा गरेको थियो। मर्मत सकेर माघ ६ गतेबाट पुल सञ्चालन गर्न अनुमति दिइने भारतीय पक्षलाई उद्रित गर्दै विराटनगर भन्सार कार्यालयले जनाएको छ।  

भारतले यस अघि पनि मर्मतको बहाना बनाएर पुस ३ देखि ११ गतेसम्म पुल बन्द गराएको थियो। विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलले भारतले पुलबाट हुने आयात निर्यात बन्द गरेपछि विकल्पका रुपमा वीरपुर–भण्टाबारी नाका प्रयोग गरिने बताए। उनकाअनुसार पुल बन्द हुनजेलसम्म यो नाका हुँदै तेस्रो मुलुकबाट आएका मालबहाक सवारी साधन नेपाल प्रवेश गर्नेछन्।  

तेस्रो मुलुकबाट आयात भएका सामानलाई वीरपुर–भाण्टाबारी रुट प्रयोग गर्न दिने तर भारतबाटै आएका मालबहाक सवारी साधनलाई भने जान नदिने अडानमा भारतीय पक्ष रहेको बताइएको छ।  

भारतबाट औद्योगिक कच्चा पदार्थ र ट्रेडिङका सामाग्री नेपालतर्फ आयात हुन्छ। ११ दिनसम्म पुल बन्द हुँदा वैकल्पिक रुट प्रयोग गर्न नदिने हो भने निजी क्षेत्रलाई ठूलो असर पर्ने उद्योगी बताउँछन्।  

२०७४ साल साउनको बाढीले पुल क्षतिग्रस्त बनाएको थियो। त्यसबेला पुल सञ्चालनमा आउन ८ महिना बढी समय लागेको थियो। मीरगञ्ज पुल अवरुद्ध हुँदा त्यतिबेला सुनसरीको वीरपुर, भण्टाबारी नाकाबाट रिरुट गरेर मालबहाक सवारी साधन नेपाल भित्राइएको थियो।  

विराटनगर भन्सार कार्यालयले दैनिक करिब १५ करोड राजस्व संकलन गर्दै आएको छ। पुल मर्मत अवधिभर राजस्व संकलनमा प्रभाव पर्ने भन्सारले जनाएको छ। भारत तथा तेस्रो मुलुकबाट सामान लोड भएर आएका तीन सय बढी मालबहाक सवारी साधन जोगवनी नाका हुँदै दैनिक प्रवेश गर्ने गरेका थिए। भारतले यस अघि पनि पुलबाट ४० मेट्रिकटन भन्दा कम भारका मालबहाक सवारी साधन मात्र प्रवेश गर्न दिने गरेको थियो।

पुलको कारण पटक–पटक समस्या खेप्नुपर्ने अवस्था आएकोले प्रदेश १ का उद्योगी व्यवसायीले यो समस्याको दीर्घकालीन समाधान खोज्नु पर्ने माग गर्दै आएका छन्। उनीहरुले पुल मर्मत लगायतका बहानामा भारतीय पक्षले नाका बन्दीकै शैली अपनाएर मालबहाक सवारी साधन आवतजावतमा रोक लगाउने गरेको गुनासो गरेका छन्।  
 

प्रकाशित मिति: : 2020-01-10 00:29:23

प्रतिकृया दिनुहोस्