उपचार गराएको खर्च तिर्न नसक्दा छोरालाई अस्पतालमै छाडेर बुवा सम्पर्कविहीन

उपचार गराएको खर्च तिर्न नसक्दा २० वर्षीय छोरालाई विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममै छाडेर बुवा सम्पर्कविहीन बनेका छन्। 

उपचारका लागि भनेर ६ महिना अघि ल्याइएका संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको बास भने अस्पतालमै छ । उपचार खर्च तिर्न नसक्दा उनलाई बाहिर निकाल्न नसकिएको हो । अस्पतालले पनि परिवारका सदस्य तथा आफन्त सम्पर्कमा नभएका कारण जीवनलाई डिस्चार्ज गरेर जिम्मा लगाउन नसकिएको जनाएको छ। 

उपचारका क्रममा अस्पतालमा पाँच लाख रुपैयाँ बढी खर्च भएको थियो । औषधि र खाना लगायतको गरेर तीन लाख बढी भइसकेको छ । छोराको उपचार वापत लागेको पैसा खोज्नका लागि भन्दै उनलाई अस्पतालमै छाडेर तीन महिना अघि घर फर्किएका बुवा गणेश भुजेल अहिलेसम्म फर्किएका छैनन्। 

अस्पतालका लेखापाल सुवास पोखरेलले अस्पतालले गर्ने छुट दिएर बिरामीलाई डिस्चार्ज गर्न सकिने भए पनि परिवारका सदस्य र आफन्त सम्पर्कमै नभएको बताए । उनले अस्पताल जतिसक्दो चाँडो जीवनलाई परिवारको जिम्मा लगाउन लागिपरेको जानकारी दिए । जीवन अस्पतालको पाँचौ तलाको सर्जिकल वार्डमा छन् । श्वासप्रश्वासका लागि घाँटीमा पाइप लगाइएको छ । घाँटीमा गहिरो चोट लागेकाले बोल्न सक्दैनन् । कसैले प्रश्न सोधेमा हातको इसारा र कपीमा लेखेर जवाफ दिन्छन्। 

उपचारमा संलग्न अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राजीवकुमार साहले  घाँटीमा गम्भीर लागेको चोटका कारण श्वासप्रश्वास सजिलो होस् भनेर घाँटीको शल्यक्रिया गरेर पाइप राखिएको बताए । परिवारका सदस्य सम्पर्कमा नहुँदा धेरै अघि शल्यक्रियामार्फत निकाल्नु पर्ने घाँटीको पाइप निकाल्न नपाएको उनको भनाइ छ । साहले परिवारका सदस्यको सहमति बिना शल्यक्रिया गर्न नसकिने स्पष्ट पारे । उनले घाँटीको शल्यक्रिया गरेर पाइप निकालेपछि बोली आफै खुल्ने पनि बताए । तत्काल पाइप ननिकाले संक्रमण भएर स्वास्थ्य सम्बन्धी थप समस्या आउन सक्ने डा. साहको भनाइ छ। 

खेलमैदान बनाउने जिम्मा लिएर काम गरिरहेका बुवा गणेशलाई भेट्न जीवन भोजपुरको षडानन्द नगरपालिका–१ मझुवावेंसीमा गाउँका साथीहरु पदम र सुवास कटुवालसँग असार ५ गते पुगेका थिए । पदम र सुवाससँग मझुवावेंसीमै निर्माणाधिन इर्खुवा हाईड्रोपावरका कामदारको झडप प¥यो । झडप छुट्याउन गएका जीवनमाथि रड प्रहार गरियो। 

त्यहीं ढलेका उनको टाउको, छात्ती, पेट र घाँटीमा चोट लाग्यो । गम्भीर अवस्थाका उनलाई उपचारका लागि बुवा गणेशले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै असार ६ गते विराटनगर ल्याइपु¥याएका हुन् । प्रहरीले पनि साथीसँग हाईड्रोपावरका कामदारको झगडा भएपछि छुट्याउने क्रममा रड प्रहार भएको र घटनामा जीवनको दोष नरहेको जनाएको छ। 

घटनामा संलग्न चार जना हाईड्रोपावरका कामदार मोरङको धानपालथान गाउँपालिका ७ का २३ वर्षीय सुशीलकुमार गिरी, १९ वर्षीय प्रल्हाद गिरी, विराटनगर १९ का ३० वर्षीय माधव भनिने सन्तकुमार गिरी र रुद्र गिरी प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दा खेपेर छुटिसकेका छन् । उनीहरु जिल्ला प्रशासनले मागेको जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर असार ३० गते नै छुटिसकेका हुन्। 

भोजपुर प्रहरी प्रमुख डीएसपी नरबहादुर सलामी मगरले घटनालाई लिएर जीवनका परिवारबाट कुनै पनि जाहेरी नपरेका कारण दोषीमाथि अभद्र व्यवहार बाहेक थप कारबाही अघि बढाउन नसकिएको बताए । घाइतेले पैसा तिर्न नसकेको लगायतका विषयलाई लिएर माघ ३ गते दुवै पक्षलाई बोलाएर छलफल राखिएको र त्यसपछि कसरी अघि बढ्ने भन्ने निस्कर्षमा पुगिने मगरको भनाइ छ। 

ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएको विपन्न परिवारका हुन् जीवन । परिवार उपचार खर्च तिर्न सक्ने अवस्थामा छैन । उनी परिवारका माइला छोरा हुन् । आमा बितेको १६ महिना बढी भयो । उनका बुवा, एक दाजु, दिदी र दुई भाई थिए । दाजु नवीनले पनि गत कात्तिक अन्तिम साता आत्महत्या गरे । भदौ १४ गते आमाको वर्ष दिनको काम पनि सकियो । तर दाजुको अन्तिम संस्कार र आमाको वर्ष दिनको काममा पनि जीवन घर पुग्न पाएनन्। 

‘उपचारका लागि लिएर आए पनि अस्पताललाई तिर्ने पैसा नभएका कारण खोज्न बुवा जानु भएको धेरै भयो,’ कापीमा लागेर उनले उनले भने, ‘कसैले पैसा नपत्याएर होला अहिलेसम्म उहाँ नआउँदा म अस्पतालबाट बाहिर निस्कन पाएको छैन ।’ सम्पत्तिका नाममा आफ्नो परिवारको एउटा झुप्रो घर र एक गह्रा बारी बाहेक केही पनि नभएको उनको भनाइ छ। 

जीवनका बुवा गणेशले उपचार खर्चको जुटाउन नसक्दा छोरालाई अस्पतालबाट निकाल्न नसकिएको बताए । उनले उपचार खर्चका लागि सहयोग गरेर छोरालाई अस्पतालबाट बाहिर निकाल्न सहयोग गर्न सबैमा अपिल गरेका छन्। 

जीवनकी छिमेकी विमला भण्डारी चापागार्ईंले युवालाई सहयोगका लागि गाउँ तथा विदेशमा रहेकाहरुबाट सहयोग जुट्न थालेको बताइन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च तिर्न नसकेर अस्पतालमा लामो समयदेखि बन्धक बनाइएका युवालाई बाहिर निकाल्नका लागि सबैतिरबाट अहिलेसम्ममा ५० हजार रुपैयाँ भन्दा बढी संकलन भइसकेको उनको भनाइ छ। 
 

प्रकाशित मिति: : 2020-01-08 11:05:32

प्रतिकृया दिनुहोस्