राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा नौ जनाको उम्मेदवारी

राष्ट्रियसभाको निर्वाचनको लागि प्रदेश १ मा नौ जनाको उम्मेदवारी परेको छ।

विराटनगरको सोमबारे हाटस्थित प्रदेश १ को निर्वाचन अधिकृतको कार्यालयमा तीन दलबाट तीन/तीन जनाको उम्मेदावरी परेको हो। आइतबार सत्तारुढ नेकपा, नेपाली कांग्रेस र समाजवादी पाटीले उम्मेदवारी दर्ता गराएका हुन्। नेपाल कम्युनिष्ट पार्टीले महिला तर्फबाट इन्दु गौतमलाई उम्मेदवार बनाएको छ।  

इटहरी उपमहानगरपालीका –४ निवासी ६४ वर्षीय गौतमको प्रस्तावकमा यसोदा अधिकारी र समर्थकमा सावित्रा रेग्मी छन्। दलिततर्फ गोपीबहादुर सार्की अछामी उम्मेदवार बनेका छन्। मोरङको सुन्दरहरैचा –८ निवासी ४५ वर्षीय अछामी तत्कालिन माओवादी केन्द्र निकट हुन्। उनको प्रस्तावक र समर्थकमा राजकुमार ओझा र धनमाया तामाङ रहेका छन्।  

अन्य तर्फ नेकपाले देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ। दमक –५ का ६१ वर्षीय दाहालका पहिलो प्रस्तावक र सर्मथकमा राजमती इङनाम र सरला राई रहेका छन्। दोश्रो प्रस्तावक र समर्थकमा ज्ञानेश्वर राजवंशी र ज्ञानेन्द्र सुवेदी छन्।

नेपाली कांग्रेसले धरानकी मीनापुलामी मगरलाई महिला उम्मेदवार बनाएको छ। धरानकी–१ की ६५ वर्षीय मगरको प्रस्तावकमा चन्द्रप्रसाद श्रेष्ठ र राजकुमार कामत रहेका छन्। समर्थकमा फूलकुमारी चौधरी र तिलक राई छन्। नेपाली कांग्रेसले दलिततर्फ पाँचथरका नीरबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ। उनको प्रस्तापक सूयर्माराज राई र नसिमा बानो छन्। शिवनारायण गनगाई र बालचन्द्र माझी समर्थक हुन्।

कांग्रेसले अन्यमा राजेन्द्रकुमार घिमिरेलाई उम्मेदवार बनाएको छ। झापा भद्रपुर–८ का ५८ वर्षीय दाहलको समर्थक र प्रस्तावकमा भीम पाराजुली र इन्दिरा कार्की छन्।

समाजवादी पार्टीले महिलातर्फ विराटनगरकी ३९ वर्षीय सदिना खातुनलाई उम्मेदवार बनाएको छ। उनको प्रस्तावक र समर्थकमा जयराम यादव र सालो साह रहेका छन्। समाजवादी पार्टीले ज्ञानकुमार परियारलाई उम्मेदवार बनाएको छ। मोरङ बूढीगंगा–३ का ४८ वर्षीय परियारका समर्थक र प्रस्तावकमा रामचन्द्र लिम्बू र कैलाशप्रसाद मण्डल रहेका छन्। समाजवादीले अन्यतर्फ विराटनगर–४ का भरतकुमार दाहाललाई उम्मेदवार बनाएको छ। उनको प्रस्तावकर समर्थकमा राधा थापा र महेन्द्र यादव छन्। मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नु पर्ने नियम आयोगले बनाएको थियो।

१४ जिल्ला रहेको प्रदेश १ मा ९३ जना प्रदेश सांसद र १ सय ३७ स्थानीय तह छन्। स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २ सय ७४ जना छन्। यस अघि निर्वाचित राष्ट्रिय सभा सदस्यको दुई वर्षे कार्यकाल फागुन २१ गते सकिँदैछ। आगामी माघ ९ गते प्रदेश १ को विराटनगरको वीरेन्द्रसभा गृहमा दोस्रो पटक राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।

दलित एक, महिला एक र अन्य एक गरेर तीन पदका लागि मतदान हुनेछ। निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सांसद मतदाता हुने व्यवस्था छ। प्रदेश १ मा ३ सय ६७ मतदाता छन्। प्रदेश र स्थानीय गरेर कूल मतभार भने ९ हजार ३ सय ९६ छ। यस प्रदेशमा नेकपाका २ सय ३६ र कांग्रेसका ८९ मतदाता छन्। अरु मतदाता अन्य पार्टीबाट छन्।  
 

प्रकाशित मिति: : 2020-01-07 12:05:41

प्रतिकृया दिनुहोस्