डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको भानु नगरपालिकास्थित दुई बालकका परिवारलाई राहत उपलब्ध गराएको छ।
चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–१ जामुनेगैह्राका तीन वर्षीय आशिष बानियाँ र –२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई वन कार्यालयले जनही रु ९ लाख ५० हजार उपलब्ध गराएको हो।
वन कार्यालयले घटनालगत्तै किरिया खर्चबापत रु ५०/५० हजार पीडित परिवारलाई प्रदान गरेको थियो। गत असोज २१ गते बानियाँको र कात्तिक ११ गते रोकाको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।
नगरपालिकाका प्रमुख उदयराज गौली, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वन कार्यालयका प्रमुख केदार बरालले सोमबार बानियाँका बुबा विष्णुबहादुर र रोकाका आमा सिर्जनालाई राहत रकम प्रदान गरे।
नगरपालिकाका प्रमुख गौलीले उक्त रकमले पीडित परिवारलाई केही सहयोग पुग्ने बताउदै ६ बालबालिकाको मृत्यु भानुमा मात्रै भइसकेकाले अझै पनि सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाई छ।
“हाल भानुमा चितुवाको आक्रमण रोकिए पनि ढुक्कसँग बस्नसक्ने अवस्था छैन,” गौलीले भने। डिभिजन वन प्रमुख बरालले विपद्को अवस्थामा राज्य जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको जानकारी दिए।
वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तु क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेलाई अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने उल्लेख छ।