सहज रुपमा उपसभामुखले राजीनामा दिनुहुन्छ: प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने बताएका छन्। उपसभामुखले सहज रुपमा राजीनामा दिए मात्रै पार्टीले सभामुखमा उम्मेदवारी दिन पाउने भन्दै उनले राजीनामा दिनुपर्ने बताएका हुन्। 

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिन आइतबार पोखरा पुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै उपसभामुखले सहज रुपमा राजीनामा दिने विश्वास व्यक्त गरे। ‘सहज रुपमा उपसभामुखले राजीनामा दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ,’ श्रेष्ठले भने, ‘त्यसपछिमात्र संविधान संवत ढंगले पार्टीले दाबी गर्न मिल्छ।’ 

सभामुखको उम्मेदवार चयन गर्दा पूर्वएमाले र पूर्वमाओवादी नभनी नेकपाको सर्वाधिक उपयुक्त पात्र चयन गरिने उनले बताए। उनले सर्वाधिक उपयुक्त पात्रलाई पार्टीले सभामुखको उम्मेदवार बनाउने पनि बताए।

प्रतिनिधिसभाको बैठकको सेरोफेरोमा पार्टीले सभामुखको उम्मेदवार पनि चयन गर्ने उनले बताए। बैठक पुस २७ गतेका लागि तोकिएको छ। राष्ट्रियसभाको निर्वाचनलगायत कारणले पार्टीको केन्द्रीय समिति बैठक पछाडि सारिएको पनि श्रेष्ठले बताए।
 

प्रकाशित मिति: : 2020-01-06 02:57:16

प्रतिकृया दिनुहोस्