मौनता

आकाश धुम्म परेको छ। कालो बादल लागेको छ। पानी पर्लापर्ला जस्तो भए पनि पर्न भने सकिरहेको छैन। उफ्! कति जाडो बढेको यो काठमाडौंमा। जाडो, गर्मी, आँधीबेरी, पानी, घाम जे जस्तो भए पनि काम त गर्नैपर्‍यो। त्यसमाथि पत्रकारको जागिर, न छुट्टीको ठेगान न त अफिसको नै। उस्तै परे पूरै दिन रिपोर्टिङमै बित्छ।

आज नेपालकै उत्कृष्ठ महिला ड्रेस डिजाइनरको अन्तर्वार्ता लिन जानु छ। केही दिनदेखि निकै चर्चा कमाएकी ती महिला ड्रेस डिजाइनरको स्टोरी गर्न मन लाग्यो। अहिलेसम्म प्रत्यक्ष भेट त भएको छैन। तर, उनको नाम धेरैपटक विभिन्न मिडियामा सुनेकी छु।

आशिया घिमिरे। बल्ल बल्ल आज उनले मलाई समय दिएकी छिन्। उनले आफ्नै घरमा ११ बजे भेट्न बोलाएकी छिन् मलाई। म हतारहतार बिहानको काम सकेर उनको घरतर्फ लागेँ।

म उनको निवास नक्सालमा पुगेँ। भर्खरै २७ वर्ष पुगेकी आशिया कति सानै उमेरमा प्रख्यात ड्रेस डिजाइनर बनिन्। अहो! कति खुशी र गर्वको कुरा हो यो। आज उनले डिजाइन गरेको ड्रेस धेरै ठाउँमा चर्चित छन्।

म निकैबेर उनको बैठक कोठामा उनको प्रतिक्षा गर्दै बसिरहेँ। ‘सरी फर डिले’ भन्दै उनी लगभग आधा घण्टापछि आईपुगिन्। उनलाई देख्नासाथ एकाएक मलाई अनौठो किसिमको महसुस भयो। मैले उनीसँग औपचारिक कुराकानी सुरू गरेँ।

उनको पारिवारिक पृष्ठभूमिको बारेमा जान्न खोज्दा उनी एकाएक रून थालिन्। भिजेका आँखाले रुन्चे स्वरमा उनले आफ्नो कथा सुनाउन थालिन्।

'जबदेखि मैले होस् सम्हाले तबदेखि मलाई थाहा भयो कि म बाटोमा भेटिएकी हुँ। जसलाई एकजना महान् महिलाले साहरा दिनुभयो। आज म उहाँलाई नै आफ्नो आमा भनेर पुज्छु। अनि उहाँको श्रीमानलाई बुवा। उहाँहरुको कोही सन्तान छैनन् अनि मेरो बुवाआमाको कुनै ठेगान छैन। आज सबैकुराले म सम्पन्न भएर पनि मलाई आफूलाई जन्मदिने बुवाआमाको अभाव सधैं खड्किन्छ। मैले त उहाँहरुको अनुहार समेत देख्न पाएकी छैन। मसँग मेरी आमाको फोटो मात्रै छ। तर, आमा कता हुनुहुन्छ कस्तो हालमा हुनुहुन्छ केही थाहा छैन। संसारमा जति नाम कमाए पनि आफ्नो बुवाआमाको छहारी नपाउँदा त्यो नाम अधुरो नै हुँदोरहेछ।

आशियाले बोलिरहँदा मेरो ध्यान कता कता पुगिरहेको थियो।

'के गर्छौ छोरी जन्माएर?' प्रवेशको यो प्रश्नको म के जवाफ दिन्थेँ? विवाहभन्दा अगाडि नै गर्भवति हुँदा समाजको कति अपहेलना सहनुपर्छ भन्ने कुराको म अनुमान समेत लाउन सक्दिनँ थिएँ। प्रवेशले बाचा गरेको थियो मसँग जसरी पनि विवाह गर्छु भनेर। तर, जब उसले मेरो पेटमा छोरी भएको कुरा थाहा पायो। विवाहको त के कुरा उसले त मसँग सम्पर्क पनि गर्न छोड्यो। प्रवेश एकाएक सम्पर्कविहिन हुँदा म डिप्रेसनमा पुगिसकेकी थिएँ। म नितान्त एक्लो भएँ। न बुवाआमाले साथ दिनुभयो न प्रवेशले। २० वर्ष पनि राम्रोसँग पुगेकी थिइनँ जब मेरो पेटमा बच्चा भएको मैले थाहा पाएँ। एक त अविवाहित त्यसमाथि गर्भमा छोरी हुनु भनेकै ठूलो अभिसाप भयो मेरो लागि।

त्यतिखेर भर्खरै पत्रकारिता सुरु गरेकी थिएँ मैले। त्यही भेटियो प्रवेश। मैले बेवास्ता गर्दा हरबखत रिया, रिया भन्दै पछि पछि घुमिरहन्थ्यो प्रवेश। अनि जब मैले उसलाई माया गर्न थालेँ उसले भरपूर फाईदा उठाउन थाल्यो मेरो मायाको। म पूरै आशक्त भईसकेकी थिएँ प्रवेशप्रति।

उसले जे भने पनि सही लाग्थ्यो मलाई। उसको विरुद्धमा केही सुन्न चाहदिनँ थिएँ। हाम्रो स्तरमा आकाश पातलको फरक भए पनि मन मिलेको थियो जस्तो लाग्थ्यो मलाई। त्यसैले त प्रवेशको हरेक कुरामा सहजै राजी हुन्थेँ । म उसको बच्चाको आमा बन्ने भएँ।

जब मेरो पेटमा छोरी छ भन्ने थाहा पाएपछि प्रवेशले गर्भपतन गराउने सल्लाह दियो त्यतिखेर धेरै ढिलो भईसकेको थियो। अन्ततः पूर्णिमाको एक रात मैले बिना बुवाको छोरीलाई जन्म दिएँ। छोरीलाई जन्मनासाथ लगेर अनाथ आश्रममा छोडिदिएँ। त्यसपछिका मेरा दिनहरु निकै नै कष्टप्रद रहे। पढाई, काम र एक्लो जीवनको ब्यालेन्स मिलाउनै हम्मेहम्मे थियो मलाई। भगवानले पनि तँ आँट म पूर्‍याउँछु भन्छन् रे। त्यसैले मैले कहिल्यै हरेश खाइनँ। एक्लै संर्घष गरेँ। पत्रकारिताको पढाई पूरा गरेँ अनि राम्रै मिडियामा पत्रकारको रुपमा काम गर्न थालेँ। उमेरले ४७ बसन्त पार गरिसक्दा पनि मभित्र केही गर्ने अठोट अझै पनि छ। बेलाबेलामा प्रवेशसँग बदला लिने विचार पनि नआएको होइन। तर, मैले त्यसको जिम्मा भगवान र समयलाई छोडिदिएको छु। प्रवेशले छोडेर गए पनि उसको यादहरु मनमा काँडा झैं बिझेर सताउँछन् मलाई बेलाबेलामा।

बुवाआमाको पनि धेरै याद आउँछ। तर, उहाँहरुले त्यही दिन नै मसँग नाता तोडिदिनुभयो जुन दिन उहाँहरूलाई थाहा भयो कि म आमा बन्दै छु। समयले बेस्सरी ठग्यो मलाई। न म आफ्नो बुवाआमासँग बस्न पाएँ। न त आफ्नी छोरीसँग नै।

आशियाको स्टोरी गर्न उसको घर पुगेकी म आफैं कताकता हराएछु। ‘एक्स क्यूज मी म्याम’ भनेर आशियाले बोलाए पछि झसङ्ग भएँ। मैले आशियालाई सोधें। 'के तपाई मलाई आफ्नो आमाको फोटो देखाउन सक्नुहुन्छ?', आशिया दौडिदै आफ्नो रुममा गएर आमाको फोटो लिएर आईन्।

त्यो फोटो हेरेर म बेहोस् झैं भएँ। हात खुट्टा गल्न थाल्यो। आशियाको हातमा अरू कसैको नभएर मेरै फोटो थियो ३० वर्ष अगाडिको। तर, मैले आशियालाई केही भन्न सकिनँ। मन त थियो कि म छोरी भनेर उसलाई अंगालौं उसलाई माया गरौं। तर, बाध्यता थियो मेरो आफ्नै।

आशिया उसकै दुनियाँमा खुशी थिईन्। ऊ प्रतिष्ठित भईसकेकी छिन् समाजमा। म उनलाई केही दिन सक्दिनँ थिएँ। त्यसैले पनि मैले केही नभनी चुपचाप आफ्नो फोटो उनलाई फिर्ता दिएँ। तर, यो बताउन सकिनँ कि म नै उनको आमा हो र त्यो फोटो मेरै हो भनेर।

मैले भिजेको आँखाले उनलाई एकटकले हेरिरहेँ। तर, न उनी बोलिन् न त मैले नै बोलेँ। सबैतिर मौनता छायो। उनी उनकै आमाको नजिक भएर पनि आमाको यादमा रोईरहिन्। म छोरीसंगै भएर पनि छोरीलाई सम्बोधन गर्न नसकेर रोईरहेँ।

प्रकाशित मिति: : 2020-01-05 03:15:00

प्रतिकृया दिनुहोस्