म्याराथनको उपाधि सेनाका दनुवारलाई

रासस

कञ्चनपुर

कञ्चनपुरको भीमदत्तनगरमा आज सम्पन्न भएको दोस्रो जैविक धार्मिक पर्यटन मार्ग हाफ म्याराथन प्रतियोगिताकोे उपाधि नेपाली सेनाका जितेन्द्र दनुवारले जितेका छन्। भीमदत्तनगर बजारदेखि ब्रह्मदेवसम्म भएको उक्त प्रतियोगितामा सेनाको श्रीनाथ गणका जवान दनुवारले उपाधि जितेको आयोजक भीमदत्त नगरपालिकाले जनाएको छ।

त्यसैगरी प्रतियोगितामामा सेनाकै कालीदल गणका जवान श्रीकास राई दोस्रो र सेनाकै खड्क दल गणका शिवबहादुर रायमाझी तेस्रो भएका छन्। प्रतियोगितामा प्रथम हुने दनुवारलाई रु ४० हजार, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिनुका साथै दोस्रो हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई रु २० हजारसहित पुरस्कृत गरिएको छ।

भीमदत्त नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा महिला १५ किलोमिटर म्याराथनमा भीमदत्तनगरका पुष्पा पाण्डे प्रथम भएका छन् भने सेनाका श्री नं २५ बाहिनी अड्डाका लक्ष्मी सुनार दोस्रो र सेनाका दवीदल गण मझगाउँ ब्यारेकका पुष्पा चन्द तेस्रो भएका छन्।

महिलातर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई ट्रफीसहित क्रमशः रु २० हजार, रु १५ हजार र रु १२ हजारसहित पुरस्कृत गरिएको छ।

त्यसैगरी १८ वर्षमुनिका प्रतियोगीका लागि आयोजना गरिएको पाँच किलोमिटर दौडमा छात्रतर्फ पूर्णा मावि ऐरीका विवेक सुनार प्रथम, बैजनाथ मावि भीमदत्तनगरका लक्ष्मण भण्डारी दोस्रो र मोनिङ्गग्लोरी स्कूलका प्रविन बुढाएर तेस्रो भएका छन्।
त्यस्तै छात्रातर्फ लक्ष्मी मावि बागफाँटाका लक्ष्मी बम पहिलो, सिद्धनाथ अमर मावि गड्डाचौकीका सोभा क्षेत्री दोस्रो र त्रिभूवन मावि तिलौचौरीकी गरिमा जोशीले तेस्रो स्थान ओगट्न सफल भए।

छात्र÷छात्रातर्फ पहिलो, दोस्रो र तेस्रो हुने धावकलाई क्रमशः रु १५ हजार, रु १२ हजार र रु १० हजार नगद र ट्रफिसहित पुरस्कृत गरिएको छ। छात्र÷छात्रातर्फ  छैटौँ स्थान हासिल गर्ने प्रतियोगीलाई समेत नगदसहित पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ। विजयी धावकलाई सांसद डा दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी, मानबहादुर सुनार, नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टलगायतले पुरस्कृत गरेका थिए।

भीमदत्त नगरस्थित खुल्लामञ्चमा एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गरेका थिए। प्रतियोगितामा विद्यार्थी, सर्वसाधारण, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ३०० भन्दा बढीले भाग लिएका थिए। पर्यटन र खेलकुदको विकास गर्ने उद्देश्यले सो नगरपालिकाले गत वर्षदेखि जैविक मार्गमा म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ।
 

प्रकाशित मिति: : 2020-01-01 11:49:20

प्रतिकृया दिनुहोस्